भ्यू टावरमा १४ करोड खर्चनु भन्दा आविष्कारमा लगाऔंः महावीर पुन

दिपक के श्रेष्ठ

प्रदेश १ सरकारले भोजपुरको ट्याम्के डाँडामा १४ करोड रुपैयाँको लगानीमा भ्यू टावर निर्माण गर्ने भएको छ ।

समुन्द्री सतहबाट ३ हजार १ सय मिटरको उचाइमा रहेको डाँडामा प्रदेश सरकारले १३ करोड ६२ लाख ८१ हजार रुपैयाँ भ्यू टावर निर्माणमा लगानी गर्ने भएको छ । विशेषतः राई जातिको पहिचानसँग जोडिएकाले भ्यू टावर चिण्डो आकारमा डिजाइन गरिने भएको छ ।

यसै विषयलाई लिएर राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले असन्तोष व्यक्त गर्दै उक्त रकम अनुसन्धानमूलक क्षेत्रमा लगानी गरी स्थानीयलाई सबल र सक्षम बनाउनसके फाइदा हुने टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘भ्यू टावर बनाउने पैसाले त्यही डाँडामा एउटा अनुसन्धान केन्द्र खोलेर त्यो भेकमा भएका प्रतिभाशाली र सृजनशील व्यक्तिहरुलाई पालन, पोषण गर्ने र उद्यमी बनाउने कामको सुरुवात गरेमा धेरै फाइदा होला ।’

त्यस्तै, पुनले मुलुक समृद्ध हुनुपर्नेमा जोड दिँदै भने, ‘पहिला देशलाई समृद्ध बनाउँ अनि त्यस्ता भ्यू टावरहरु भविष्यमा जति बनाए पनि बनाउनु होला ।’ उनले आफुले भने जस्तो गरे देश २५ वर्षमा समृद्ध हुने समेत उल्लेख गरेका छन् ।

स्मरणीय छ, १ नम्बर प्रदेश सरकारले हालसम्म प्रदेशको नामाकरण गर्न समेत सकेको छैन । प्रदेशका मुख्यमन्त्री शेरधन राई हुन् भने उनको गृहजिल्ला पनि भोजपुर नै हो ।

कमेन्टहरु
Loading...