पिसिआर रिर्पोट बिना जिल्ला प्रवेश गरेपछि हुम्लाको सिमकोट विमानस्थलबाट २ जना पक्राउ

सिमकोट । हुम्लामा पिसिआर परीक्षण नगरिकन जिल्ला भित्रिने २ जना पक्राउ परेका छन् ।

कोरोना भाइरस संक्रमणको दर बढिरहेको अवस्थामा पिसिआर परीक्षण नगरिकन कालिकोट तथा जाजरकोट घर भएका उनीहरु हवाइजहाजबाट सिमकोट विमानस्थल पुगेका २ जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनासंग सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेक्समा जाँच गर्ने क्रममा पिसिआर रिर्पोट मागिएको थियो । सोही क्रममा दुवै जनाले रिर्पोट दिन अस्वीकार गरे । तर पछि उनीहरु पिसिआर परीक्षण नै नगरेर जिल्ला भित्रिएको खुलेको थियो ।

हाल दुवै जनालाई सिमकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरु दुवै जना हुम्लामा नै कार्यरत स्वास्थ्यकर्मी नभएपनि साथीको विवाहका लागि भन्दै हिजो बिहीबार बिहान पिसिआर परीक्षण नगरेर नै सुर्खेतबाट सिमकोट पुगेका थिए ।

अब निजी लगानीमा उनीहरु दुवै जनाको एन्टिजेन टेस्ट किटबाट परीक्षण गरिने भएको छ । कोरोना रिर्पोट पोजेटिभ आए स्वास्थ्यकर्मीको निगरानीमा राखिने र नेगेटिभ आएमात्र गन्तव्यस्थलमा पठाइने बताइएको छ ।

कमेन्टहरु
Loading...