संखुवासभामा अज्ञात समूहले राखेको बम निष्क्रिय

संखुवासभा । संखुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ ।

वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिएका छन् ।

बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो । उक्त बेवारिसे बम आज बिहान ८ बजे बराह दल गुल्लको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथोकीले बताएका छन् ।

बम कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न नसके पनि पछिल्लो गतिविधिका आधारमा नेत्रविक्रम चन्दका कार्यकताले राखेको हुन सक्ने प्रवक्ता बुढाथोकीको भनाइ छ ।

बम राख्ने समूहको खोजी तीव्र पारिएको बताइएको छ । खाँदबारी–वाना सडक खण्डमा शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए ।

संखुवासभामा यही मंसिर १ गते चैनपुर नगरपालिका–४ मैदानेमा चन्दका कार्यकर्ताबीच गोली हानाहान भएको थियो । उक्त घटनामा संलग्न भएका आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जनाएको छ ।

चन्द कार्यकर्ताले पछिल्लो समय संखुवासभामा आफ्नो गतिविधि बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

कमेन्टहरु
Loading...