१३ औं दिनको पुण्यतिथिमा स्व.केसीका योगदानको स्मरण

पोखरा । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको १३ औं दिनको पुण्यतिथिका अवसरमा आयोजित श्रद्वाञ्जली सभामा उनले सामाजिक एवम् राजनीतिक क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गरिएको छ ।

नेपाली काँग्रेस कास्कीद्वारा आज पोखरा महानगरपालिका वडा नं ७ मुस्ताङचोक स्थित केसी निवासमा आयोजित सभामा वक्ताले स्व.केसीलाई समाजको असल अभिभावकका रुपमा स्मरण गर्दै उनको सदैव अभाव रहिरहने बताए ।

नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेता केसीको समाज सेवा प्रतिको समर्पण प्रशंसनीय भएको बताए ।

समाजका हरेक क्षेत्रमा केसीले पु¥याएको योगदानको चर्चा गर्दै उनले स्व. केसीको विरासतलाई सफलताका साथ परिवारले अघि बढाउने विश्वास व्यक्त गरे।

काँग्रेसका नेता शुक्रराज शर्माले नेता केसीले जीवनको विरासतलाई प्रजातन्त्रमा समर्पित गरेको जनाउँदै उनले नाममा प्रतिष्ठान स्थापना गरी समाज सेवाको अभियान अघि बढाउन सुझाव दिए ।

पार्टीका आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, पूर्व मन्त्री यज्ञबहादुर थापा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, नेता सोभियतबहादुर अधिकारी, काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ʿमधु’, तत्कालीन संविधानसभा सदस्य शारदा पौडेल लगायतले समाज, पार्टी र परिवारलाई केसीको अभाव सदैव रहने उल्लेख गरे ।

राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य र सञ्चारलगायतका क्षेत्रमा योगदान पुर्याएका नेता केसीको ६३ वर्षको उमेरमा यही कात्तिक १७ गते निधन भएको थियो ।

कमेन्टहरु
Loading...