बैतडी बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ७ जनाको पहिचान खुल्यो

बैतडी । बैतडीमा भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये ७ जनाको पहिचान खुलेको छ । दार्चुलाको गन्नाबाट कञ्चनपुर महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।

आठ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रणबहादुर चन्द रहेका छन्।

त्यस्तै अन्य ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृत्यु भएका अन्य दुई जनाको भने पहिचान खुल्न सकेको छैन । मृतक मध्ये एक जनाको शव डडेल्धुरा अस्पताल र बाँकीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा ३४ जना घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । केही घाइतेलाई भने धनगढी रिफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कमेन्टहरु
Loading...