जनकपुर २२ मंसिर । आज रामजानकी विवाहपञ्चमी हिन्दुहरूले रामजानकीको पूजा आराधना गरी मनाइँदैछ । विवाहपञ्चमीको अवसर पारेर धनुषाको जनकपुरमा आज धार्मिक मेला लाग्ने गर्छ । भक्तजनहरूले बिहानै धनुषसागर र गङ्गासागरमा स्नान गरेर राममन्दिरमा रामचन्द्र र जानकी मन्दिरमा सीताको दर्शन गर्छन् ।
आज नेपाल र भारतका हिन्दुहरूले यो विवाहपञ्चमीलाई विशेष महत्वका साथ मनाउने गर्छन् । त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीताको विवाहका लागि राखेको प्रतिज्ञा भगवान रामले पूरा गरेपछि आजको तिथिमा रामसीताको विवाह भएको हो ।
यसैले आज राममन्दिरबाट साधु, सन्त महन्त, साहु महाजन र पुजारीसहितको भव्य र आकर्षक जन्ती जानकी मन्दिरमा गई वैवाहिक सस्कार सम्पन्न गर्ने परम्परा छ । यसैको खुसीयालीमा आज जनकपुर सहरको परिक्रमा पनि गरिन्छ ।