नेकपा सचिवालय बैठक शुक्रबार चार बजे बस्दै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । ओलीले नेकपाको सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाएका छन् । महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलि दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिएका छन् । नेकपामा सचिवालय बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ । बालुवाटारमा बैठक बस्ने तय भएको र महासचिव पौडेल प्रधानमन्त्री ओली निकट रहेकोले पनि प्रधानमन्त्रीले सचिवालय बैठक राखेको देखिन्छ ।

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

प्रचण्डसहित पाँच सचिवालय सदस्यले मंगलबार ध्रुम्बाराहीमा छलफल गरी आजसम्म सचिवालय बैठकका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई पर्खने बताएका थिए।

प्रचण्डसहित नेता आज पनि सचिवालय सदस्यहरूसँग छलफल गर्ने बताइरहेका बेला प्रधानमन्त्रीले नै सचिवालय बैठक तय गरेका छन्। केही समयअगाडि बसेको नेकपा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएपछि नेकपामा सचिवालय बैठक बोलाउनुपर्ने माग लामो समयदेखि उठेको हो।

प्रचण्डसहित पाँच सचिवालय सदस्यले लिखित पत्र नै बुझाएर अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन माग गरेका थिए । गत शनिबार बैठक बसेर कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले उक्त माग गरेका थिए।

मंगलबार पनि प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठक राख्न आग्रह गरेका थिए। ध्रुम्बाराहीमा बैठक बस्नुअघि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । तर प्रधानमन्त्री त्यसदिन प्रचण्डको प्रस्तावअनुसार सचिवालय बैठक राख्न सकारात्मक भएका थिएनन्।

कमेन्टहरु
Loading...