आजदेखि तिहार सुरु

पोखरा । हिन्दुहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु भएसँगै बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ ।

धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने र धनतेरसको दिन भाँडाकुँडा किने लक्ष्मीको बास रहने धार्मिक विश्वास छ ।

यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने हुन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।

गाई, गोरु र आत्म म्ह पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

कमेन्टहरु
Loading...