२१ वर्षीय युवक सहित मोरङमा एकैदिन ९ जना कोरोना संक्रमितले ज्यान गुमाए

विराटनगर । कोरोना भाइरस संक्रमणबाट मोरङमा एकैदिन ९ जनाले ज्यान गुमाएका छन् । जिल्लाको विराटनगरका ८ तथा सुन्दरहरैचा नगरपालिकाका १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

कोरोना भाइरस संक्रमणबाट विराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना तथा न्युरो अस्पतालमा १ जना तथा होम आइसोलेसनमा रहेकी १ जना महिलाले ज्यान गुमाएका छन् ।

नोबेल अस्पतालमा आज बिहान ८ बजेर २५ मिनेट जाँदा झापाको गौरादहका १ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ६५ वर्षीय उनलाई श्वासप्रश्वासको समस्या रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना परीक्षण गर्दा उनलाई कार्तिक १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सोही अस्पतालमा तेह्रथुमका कोरोना संक्रमित १ जना पुरुषले समेत ज्यान गुमाएका छन् । जिल्लाको म्याङ्लुङ १० का ५७ वर्षीय मृतक पुरुषको आज बिहान ८ बजेर २० मिनेट जाँदा ज्यान गएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी नोबेल अस्पतालको आइसोलेसनमा कार्तिक २२ गते भर्ना भएका थिए ।

झापाको हल्दीबारी ४ का १ जनाको नोबेल अस्पतालमा नै कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ७० वर्षीय पुरुषको आज बिहान कोरोनाबाट ज्यान गएको हो । अस्पताल स्रोतका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि मृतक वृद्धलाई कार्तिक १५ गते अस्पताल भर्ना गरिएको थियो ।

कोरोना भाइरस संक्रमणबाट २१ वर्षीय युवाले समेत सोही अस्पतालमा ज्यान गुमाएका छन् । उदयपुरको त्रियुगा ३ घर भएका उनको नोबेल अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ५ बजे ज्यान गएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भए पछि उनी कार्तिक २२ गते अस्तताल भर्ना भएका थिए ।

जिल्लाको रतुवामाई नगरपालिकाका १ जना वृद्धले सोही अस्पतालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । नगरपालिका अन्तरगत वडा नम्बर ९ का ७७ वर्षीय पुरुषको आज बिहान साढे ६ बजे नोबेल अस्पतालमा नै ज्यान गएको हो । कोरोना भाइरससंग मिल्दो लक्षण श्वासप्रश्वासमा समस्या देखिएपछि उनी कार्तिक २२ गते अस्पताल भर्ना भएका थिए । शंकाका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा उनलाई अस्पताल भर्ना भएकै दिनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यता कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा समेत २ जना संक्रमितले ज्यान गुमाएका छन् । सो अस्पतालमा इटहरी ५ की ६९ वर्षीय महिला तथा ७७ वर्षीय पुरुषको ज्यान गएको हो । ६९ वर्षीय महिलाको आज बिहान ८ बजे ज्यान गएको हो । उनी कोरोना रिर्पोट पोजेटिभ आएपछि कार्तिक १३ गते अस्पताल भर्ना भएकी थिइन् । त्यस्तै विराटनगर ३ का ७७ वर्षीय पुरुष कार्तिक २२ गते अस्पताल भर्ना भएकोमा आज बिहान ७ बजे उनको ज्यान गएको हो ।

यस्तै विराटनगरको न्युरो अस्पतालमा जिल्लाको कटहरी २ का ५० वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट सोमबार राति ९ बजेर ५० मिनेट जाँदा ज्यान गएको छ । उनी कार्तिक २१ गते अस्पताल भर्ना भएका थिए । मृतक पुरुषलाई अस्पताल भर्ना भएकै दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लाको सुन्दरहरैचामा १ जना महिलाको भने होम आइसोलेसनमा नै ज्यान गएको छ । सुन्दरहरैचा ७ की ७७ वर्षीय वृद्धलाई सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

ज्वरो आउने, निमोनिया तथा श्वासप्रश्वास लगायतका समस्या उत्पन्न भएपछि पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएकोमा २४ घण्टा समेत हुन नपाउँदै उनको निधन भएको हो ।

कमेन्टहरु
Loading...