हेडलाइनमा उल्लेखित पंक्ति कवि भूपि शेरचनको कविता ‘हामी’ को अंश हो । शेरचनका कविता प्रायः जुनसुकै बेला पनि नेपाली समाज र नेपालीलाई व्यंग्य गरिरहन्छ । वर्तमानमा यो व्यंग्य नेपालीको वीरताप्रति लक्षित छ । हाम्रो बुद्धुपनालाई कवितांशले कटाक्ष गरेको छ । हामी चाडमा व्यस्त छौं, मोजमा व्यस्त छौं, भोजमा व्यस्त छौं । र, घुमघाममा व्यस्त छौं । मोज, भोज र घुमघाम आवश्यक छ । बदलिँदो जीवनशैलीबीच मनोरञ्जन काम जत्तिकै अपरिहार्य छ । तर बेमौसमको मनोरञ्जनले हामी कोरोना बम बनिरहेका छौं । कोरोना भाइरस त्यतिबेलासम्म सामान्य हो, जतिबेलासम्म यसको संक्रमण हुँदैन । नमरी स्वर्ग देखिन्न भने झैं संक्रमित नभइञ्जेल कोरोनालाई नटेर्ने वीर भएका छौं हामी । यसमानेमा बुद्धु भएका छौं हामी ।
लेखनीको प्रसंग हो, पोखरा र गण्डकी प्रदेशमा उकालिरहेको कोरोना संक्रमणको ग्राफको । पछिल्लो एक सातालाई नियाल्ने हो भने समाचारका प्रत्येक हेडलाइन कोरोनाबाट सुरु भएर कोरोनामै अन्त्य हुन थालेको छ । दशैंअघिसम्म केही सुस्ताएको कोरोनाको तथ्यांक मान्छेको चहलपहलसँगै आकाशिँदो छ । प्रदेश भित्र रहेका अन्य जिल्ला भन्दा कास्की यतिखेर उच्च जोखिममा रहेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांक हेर्दा संक्रमणलाई रोकथाम गर्न सकिएन भने भयावह स्थितिको सामना गर्न न हामी, न त सरकार नै सक्षम छ । प्रदेश तथा स्थानीय निकायको फितलो योजना तथा कार्यान्वयन पनि यसका कारण हुन सक्छन् तर जनसमुदायको लापरवाहीलाई नजरअन्दाज गर्न सकिँदैन ।
पोखराकै कुरा गर्नुपर्दा जति संक्रमितको संख्या बढ्दै गरेको खबर आएपनि त्यसको बेवास्ता गर्दै झन जमघट र भेलाका कार्यक्रम भईरहेका छन् । नयाँ तथा रमाईला ठाउँहरु घुम्ने उपयुक्त माहोल दशै–तिहारको समयलाई लिईएकाले पनि होला यतिखेर पोखराका विभिन्न स्थानमा मानिसहरुको भिडभाड देखिएको छ । अझ शनिबार त सामान्य पिङ खेल्ने ठाउँमै पनि सयौंको संख्यामा मानिसको भीड देखिने गरेको छ । साँझमा फेवातालको पश्चिमतर्फका रेष्टुरेष्टहरुमा पनि उत्तिकै भीड देखिन्छ । लेकसाईडको फुटट्रयाकमा हिड्नेको माहोल देख्दा लाग्छ यहाँ कोरोनाले प्रवेश नै गरेको छैन ।
पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको पर्यटकीय गन्तव्य तनहुँको मानहुँकोटलाई हेर्ने हो भने पनि हामी कति बेपर्वाह छौं भन्ने प्रष्ट हुन्छ । कोरोनाका कारण मेला, महोत्सव त बन्द भएका छन् तर महोत्सव भन्दा धेरै मानिसको उपस्थित रहेको दृष्य अहिले सामान्य भएको छ । एकै दिन सयौंको संख्यामा सामाजिक दुरी नअपनाई, भिडियो बनाउनैकालागि बिना मास्क ठेलमठेल हिड्दै गरेको दृष्य यस्तो महामारीकाबेला देखिनु कोरानालाई जिस्क्याउनु हो । आखिर, हामी वीर हौं नी । तर बैलैमा सजग हुन सकिएन भने वीर होईन बुद्धु पदको सम्मान अवश्य पाउनेछौं ।
मृत्युलाई मात्र हेर्ने हो भने कास्कीमा पछिल्लो साता १३ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोनाकै कारण एउटै जिल्लामा औसत दैनिक २ जनाको ज्यान जानु सामान्य कदापि होईन । यसो ठानियो भने मुर्खतालाई बढावा दिनुमात्र हो । सबैले मापदण्ड पालना गरेका छैनन् भन्ने आशय होईन तर एउटा परिवारमा एक जनाले मात्र लापरवाही गरेमा त्यसको सजाय पुरै परिवारले भोग्नु पर्ने तथ्य बिर्सनु हुँदैन । तपाई परिवारका सदस्यलाई सम्झनुहोस्, यदि तपाईका कारण परिवारमा कोरोना फैलिएर कसैको ज्यान गएमा तपाइमाथि के बित्नेछ ? तपाईलाई केही भएमा परिवारमाथि कस्तो बज्रपात पर्नेछ ?
महामारीको भवसागरबीच अझै लापरवाही किन गरिरहेका छौं ? रक्सी, चुरोट पिउनु घातक हो भन्ने थाहा हुँदाहुँदै रमाईलोको बहानामा चियर्स गर्ने र एउटै प्लेटको सितन ७ – ८ जनाले शेयर गर्ने, चुरोट बाँडेर पिउने, सेल्फीको नाममा दूरी बिर्सने जस्ता गतिविधिले कोरोनालाई जिस्क्याएको प्रष्ट हुन्छ । भन्दा सुन्दा यस्ता काम सामान्य हुन्, तर यस्तै गतिविधिकाकारण युरोपियन देशहरुमा पुनः लकडाउन सुरु गरिएको छ । अझ फ्रान्समा शुक्रबारमात्रै ६० हजार संक्रमित भेटिए । युरोपका प्रायः देश कोरोनाको दोस्रो लहर खेप्दैछन्, यसमा उनीहरुको दिनचर्या जिम्मेवार भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । कोरोनासँग जुझ्न युरोपियन देशका बलिया संयन्त्र फेल भइरहेकाबेला हामी भने सरकारलाई सत्तोसराप गर्दै उन्मुक्त भएर दारासिंहझै बलवान ठानि विचरण गरिरहेका छौं । यसअर्थमा हामी आफुलाई कोरोना बम बनाउनेतर्फ उद्दत भइरहेका छौं ।
कास्कीमा साताबीच करिब ८ सयमा संक्रमण देखिएको छ । सोझो हिसाब गर्दा पनि दैनिक १ सयमाथि कोरोना संक्रमण बढेको देखिन्छ । सबै जिल्लामा यहि अनुसारले नबढ्ला तर बढ्यो भने तपाई आफै अनुमान लगाउनुस्, त्यसका परिणाम के हुनेछ । दैनिक ७७ जिल्लामा ७ हजार ७ सयमा संक्रमण हुनु र १ सय ५४ जनाको ज्यान गए के होला ? यदि अझै पनि हाम्रो आचरणमा सुधार ल्याएनौं भने र समयमै रोकथामका प्रयास गरिएन भने अबका दिन हाम्रो यात्रा ब्रह्नालतर्फ हुनेछ ।
राज्यबाट रोकथामका लागि भनेर कामै नभएको भने होईन । तर यस्तै योजना तथा कार्यान्वयनले रोकथाम भन्दा झन दर्दनाक स्थिति आउने निश्चित छ । हामी सधै सजग छौं भनेर घमण्ड मात्रै गर्छौ र सँधै राज्यलाई मात्र दोष दिने गर्छौ । अहिलेको अवस्थामा यो अनुचित हो । जीवन रहे घुमघाम र खानपिनका असंख्य अवसर सिर्जना गर्न सकिन्छ । सुरक्षाका सामान्य मापदण्डलाई पनि लत्याएर हेलचक्र्याई गरे तपाई रहनुहुन्न । तपाइका सपना र योजनाहरु रहने छैनन् । यसर्थ, तपाई अब बुद्धु भएर वीर हुने वा वीर हुन बुद्ध बन्ने ? जवाफ तपाइसँगै छ ।