आत्मकथाको एक अंश… गनेस पौडेल

गनेस पौडेलgadis

…. धान बेचेर परिवारको खर्च चलाएपछि बचेको पैसाले हाम्रो दशैं चल्थ्यो, लत्ता कपडा चल्थ्यो । अति गाह्रो भएको बेलामा हामीलाई दशैंका बेला किनिदिने नयाँ कपडा पनि स्कुलको ड्रेस हुन्थ्यो । मैले केटाकेटीमा स्कुलको ड्रेस लगाएर दशैंको टिका थाप्न गएको छु आफन्तिको घरमा । मलाई त्यसको कहिल्यै गुनासो रहेन । सायद यसैले होला, मलाई कहिल्यै पनि कपडाको शौख रहेन । आजकाल दशैंमा म कहिल्यै नयाँ कपडा लगाउँदिन । 
आमा घरबारीमा तरकारी लगाउनु हुन्थ्यो । हिउँदको दिनमा हामी घरबारीको ४ वटा गह्रामा लगाएका साग, लसुन, प्याज, चम्सुर, धनिया जस्ता तरकारी टिप्थ्यौं । करिब एक डोको जस्तो भएपछि साँझभर त्यसलाई पखाल्थ्यौं । भोलीपल्ट हामी नउठ्दै आमा बजारमा साग बेच्न गैसक्नुु भएको हुन्थ्यो । २०४७ सालमा आमाले तरकारी बेचेर जम्मा गरेको १६ सय रुपियाँले गोरु किन्नुभयो, टुँडिखेल गएर । त्यो १६ सय जम्मा गर्न आमालई कार्तिक देखि फागुनसम्मका ५ महिना पुरै लागेको थियो । म दिनहुँ पैसा गन्थेँ ‘कति पुग्यो?’ भनेर ।
गुरे नाम थियो त्यो गोरुको । गोरु आए पछि ‘अब हल बेसाउनु पर्दैन’ भनेर म कत्ति खुसी भएको थिएँ । भन्न त पहिला २२ सय भनेको थियो रे, पछि घटाएर १६ सयमा दियो रे बेच्ने मान्छेले । म पढ्ने स्कुलका हेडमास्टर मुनबहादुर सरसँग परेली थियो हाम्रो । आफ्नो घरमा काम परेको बेला गोरु लिन जाने काम प्रायः मेरो हुन्थ्यो । हाम्रो गुरे गोरु हिड्नमा पनि चालु थियो । सानो थियो तर छरितो थियो । साथीहरूले ‘तेरो गोरु त छिटो हिड्छ’ भन्दा म मख्ख पर्थे । मेरो खुसी त्यस्तै स–साना कुरामा थियो । सायद त्यसैको कारण होला म खुसी सहन सक्दिन र चाँडै हाँस्छु ।
८ बर्ष सेवा गरेर गुरे बित्यो एकादशीको दिन । गुरे बितेको दिन एकादशी परेको हुनाले घरमा खाना पाकेन । पाकेकै भए पनि मलाई खाने मन थिएन । …

कमेन्टहरु
Loading...