कैदीबन्दी व्यवस्थापनमा समस्या

पाँचथर जिल्ला कारागारमा संरचना नहुँदा नयाँ कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ । कोभिड–१९ सङ्क्रमण परीक्षण नगरी नयाँ कैदीबन्दीलाई अन्यसँग राख्न नमिल्ने भएपछि अलग्गै राखिने गरेको छ । नयाँ कैदीबन्दीलाई छुट्टै राख्न आवश्यक पर्ने संरचना प¥र्याप्त नहुँदा कारागार प्रशासनलाई समस्या परेको हो ।

कारागारभित्र सङ्क्रमण फैलनसक्ने खतरालाई दृष्टिगत गर्दै कारागार चलान भएका सबै नयाँ कैदीबन्दीलाई कम्तिमा दुई साता अन्य कैदीबन्दीभन्दा अलग्गै राखिने गरेको छ ।
नयाँ कैदीबन्दीका लागि आवास, खाना, सरसफाइलगायत दैनिक क्रियाकलापका लागि अलग्गै व्यवस्थापनमा आर्थिक र भौतिक संरचना अभाव रहेको जिल्ला कारागार कार्यालयका प्रमुख (जेलर) सुरेन्द्रबहादुर मुखियाको भनाइ छ ।

नयाँ आउने कैदीबन्दीलाई क्वारेन्टिनका रुपमा कारागार प्रशासनसँगै कोठा व्यवस्थापन गरी राख्ने गरिएको छ । संरचना अभाव भएपछि कारागार प्रशासनले प्रशासनिक कक्ष, भण्डार, सुरक्षाकर्मी बस्ने कोठालगायतलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने तथा कर्मचारी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सामग्रीहरुको आलोपालो प्रयोग भइरहेको जेलर मुखियाले बताए ।

हालसम्म विभिन्न मुद्धामा कारागार चलान भएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । कारागार प्रशासनको सतर्कताका कारण उनीहरु सबै अन्य कैदीबन्दीको सम्पर्कमा पुगेका भने थिएनन् ।

हप्तामा एक/दुई जना कैदीबन्दी भित्र, बाहिर भइरहने हुँदा ब्यवस्थापनमा चुनौति थपिएको हो ।

कमेन्टहरु
Loading...