डोटी । भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने नौ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् । भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट लागेको छ ।
बालकको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
पाखुराको दुवैतिर शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डा सोहम शाहले जानकारी दिएका छन् । घाइते बालकका बुबा शेरबहादुर पार्कीका अनुसार घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको हो ।
यस वडामा वर्षेनी भालुले आक्रमण गर्ने गरेको छ । खप्तड राष्ट्रिय निकुञ्जबाट आउने भालु, बँदेलको आक्रमणका कारण जिल्लामा वर्षेनी केहीको ज्यान जाने गरेको छ । रासस