कोरोनाबाट वडाध्यक्षको निधन

कैलाली । कोरोना संक्रमित कैलालीको गौरीगंगा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज ज्यान गएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान ज्यान गएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिएकी छिन् । बिरामी भएपछि कात्तिक १७ गते नमूना जाँच गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यसैबीच कोरोनाको संक्रमण भई धनगढीमा उपचाररत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको उनका स्वकीय सचिव जंगबहादुर विकले बताएका छन् ।

‘मन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेपनि सुधार आउन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।’ विकले भने, ‘धनगढीमा होम आइसोलेसनमा बसिरहनुभएका मन्त्री शाहलाई नाकबाट रगत बगेपछि बुधबार सेती प्रादेशिक अस्पतालमा उपचार व्यवस्थापन गरिएको थियो ।’ मन्त्री शाहसहित उनकी धर्मपत्नी र गाडी चालकमा यही कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा गुणराज अवस्थी चिसो मौसममा कोरोना संक्रमण दर गर्मी मौसमको भन्दा बढ्न सक्ने जोखिम रहेको बताएका छन् । रासस

कमेन्टहरु
Loading...