सिए पढ्न प्रेरित गर्न काउन्सिलिङ

पोखरा, १८ मंसिर । सुरक्षित र आत्मनिर्भर भविष्य खोज्ने विद्यार्थीहरुको चार्टर्ड एकाउण्टेण्ट( सिए ) विषयप्रतिको मोह ह्वात्तै बढेको छ । पढाई सकिनासाथ पाइने आकर्षक जागिर र स्वतन्त्र रुपले समेत काम गर्न सकिने भएकोले यो विषयप्रति विद्यार्थीहरु आकर्षित भएका हुन् ।

यही तथ्यलाई मनन गर्दै नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाको आयोजनामा मंगलबार पोखरामा सिए पढ्न चाहने विद्यार्थीलाई लक्षित गरी ‘करिअर काउन्सिलिङ’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यहाँको एलए उच्च मावि न्यूरोड र सगरमाथा उच्च मावि नयाँबजारका ६६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाका सहनिर्देशक पुष्पेन्द्र सिँह र बरिष्ठ सिए पूर्णेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई चार्टर्ड एकाउण्टेन्सी विषयको महत्वबारे प्रकाश पारेका थिए । यसैगरी कार्यक्रममा पोखराका युवा सिएहरु अमित थापा, प्रकृति तिमिल्सिना र अर्जुन गोसलीले पनि विद्यार्थीहरुलाई सिए हुँदाका फाइदाबारे जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...