काठमाडौं । नेपाली सेनाको निमन्त्रणामा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आजबाट नेपाल भ्रमणका लागि आउँदैछन् । उनी आज बिहान साढे ११ बजे नेपाल आइपुग्नेछन् ।
उनको शुक्रबार भारत फकर्ने कार्यक्रम तय भइसकेको छ । ३ दिन नेपालमा रहँदा राष्ट्रपति विद्या भण्डारीले नरावणेलाई भोलि बिहीबार सेनाको मानार्थ सेनाध्यक्ष पदवी प्रदान गर्नेछिन् ।भारतीय सेनाध्यक्ष नरावणेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताएको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।
यता नेपालीहरु सेनाध्यक्ष नरावणेले नेपाल–भारत सीमा विवादमा व्यक्त गरेको अभिव्यक्तिप्रति रुष्ट छन् ।
नरावणेले कालापानीमा भारतले बनाएको सडकका बारेमा नेपालमा आलोचना भइरहँदा नेपालले अरुको उक्साहटमा भारतको विरोध गरिरहेको अभिव्यक्ति दिएका थिए । उनले खुलेर नभनेपनि त्यो समयमा उनको इशारा चीनतर्फ रहेको थियो ।
यही विषयलाई लिएर विरोध हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै यतिबेला काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरीले सुरक्षा सतर्कता अपनाएको छ ।