गन्थन डेस्क
खुलामञ्चमा रोजगारविहीन र असहायहहरुलाई खाना खुवाउने काम गर्न बन्द गर्न निर्देशन दिएको विरुद्ध साझा पार्टीले काठमाण्डौका मेयर विद्याशुन्दर शाक्यलाई उक्त कार्य रोकेर देखाउन चुनौती दिएको छ ।
पार्टीका प्रवक्ता सरदराज पाठकले आज एक विज्ञप्ती जारी गर्दै मेयरको उक्त निर्देशनको भत्सर्ना गरेका हुन् । ‘केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भत्र्सना गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।
कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्नेमा साझाले जोड दिएको छ । ‘तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो’ विज्ञप्तीमा भनिएको छ ।
बिज्ञप्तीमा जनाईए अनुसार भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् । शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्य रोक्नेलाई निर्दयीको संज्ञा दिदै साझाले खाना खुवाउने कार्य कसैले रोक्न नसक्ने दावी गरेको छ ।
‘शान्तिपुर्णरुपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले ?’ बिज्ञप्तीमा जनाईएको छ । साझाले तुरुन्त आफ्नो निर्णय फिर्ता गर्न सरकारसँग माग पनि गरेको छ ।