चितवनमा १३ जिल्लाका १ सय १६ संक्रमितको निधन

चितवन । जिल्लामा हालसम्म १ सय १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट समेत संक्रमित उपचार गराउन आउने गर्दछन् । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार गणले १ सय ७ शवको व्यस्थापन आफैंले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो ।

गणका अनुसार निधन भएकाहरुमा चितवनबाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्तापूर्व) का रहेका छन् । सो जिल्लाका १८ जनाको चितवनका अस्पतालमा निधन भएको हो । त्यसैगरी मकवानपुरका १२, रौतहटका ४, सर्लाहीका ४, तनहुँका ३, गोरखाका ४, कैलालीका २, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका १/१ जनाको यहाँका विभिन्न अस्पतालमा निधन भएको हो ।

जिल्लामा हालसम्म ५ हजार ९ सय २३ संक्रमित भएका छन् । तीमध्ये ६४ जनाको मृत्यु भएको हो । मृत्युदरको हिसाबले १.०८ प्रतिशत हुन आउँछ । देशभरको तथ्यांकलाई हेर्दा मृत्युदर ०.५५ प्रतिशत मात्रै रहेको छ ।

देशभरको कुल संक्रमणबाट निधन भएकाको संख्या ९ सय ८४ रहेको छ । तीमध्ये १ सय १६ जनाको चितवनमा निधन भएको हो । नेपालमा निधन भएकाहरुको हिसाबले चितवनमा निधन भएकाहरुको प्रतिशत १२.०८ हुन आउँछ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनले आफ्नो जिल्लाको मात्रै नभएर छिमेकी जिल्लाका सङक्रमितको उपचार र शव व्यवस्थापन गरेको हुँदा कुल निधन भएकाको संख्या बढी हुन आएको बताए ।

यहाँको संघीय भरतपुर अस्पताल, २ मेडिकल कलेज र निजी अस्पतालले समेत संक्रमितको उपचार गर्दै आएका छन् । सबैको साथ र सहयोगकै कारण जिल्लामा ठूलो संख्यामा कोरोना संक्रमितको व्यवस्थित उपचार र निधन भएकाहरुको शव व्यवस्थापन गर्न सहज भएको उनको भनाइ छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी संक्रमितहरु जटिल भएपछि यस जिल्लामा उपचारका लागि आउने गरेकाले मृत्यु संख्या बढी भएको बताउँछन् ।

पछिल्लो समय काठमाडौं जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उनको भनाइ छ । जिल्लाका अस्पतालले ठूलो संख्यामा संक्रमितको सफल उपचार गरी निको पार्न सफल भएको तिवारी बताउँछन् । कोरोना रोग नियन्त्रण र उपचारमा यहाँका सरोकारवाला निकायहरुको बीचमा भएको समन्वयका कारण सहज बनेको तिवारीको भनाइ छ । रासस

कमेन्टहरु
Loading...