पोखरा । चुनावताका जनताको समस्या हाम्रो पनि समस्या हो, हामीलाई भोट दिनुभयो भने हामी जनताको समस्या समाधानमा दिलोज्यान दिएर लाग्छौं भन्ने राजनीतिक दल र तिनका नेता कार्यकताहरु अहिले कोरोना महामारीको समयमा कता गुमनाम छन् ? बहसको विषय बनेको छ ।
चुनावका समयमा राजनीतिक दलका नेता कार्यकर्ताले आम जनतालाई सपना मात्र देखाएनन्, बरु गरिब सुकुम्वासीको घरघरमा चामलका बोरा बोकेर पनि गए । त्यही आधारमा केही दलहरु निर्वाचित भएर सत्ता सञ्चालनको महत्वपूर्ण भूमिका पनि बहन गरिरहेका छन् ।
हिजो हरेक दलका चामलका बोराहरु घरमा पुग्ने मजदुर, किसान र सुकुम्वासीहरु कोरोना असरका कारण घरबारविहीन र खानाविहीन बनेका छन् । कोरोना महामारीका कारण रोजी रोटी गुमाएहरु घर न घाटको भएका छन् । रोजगारीबाट निकालिएपछि सडकमा आएपछि आज उनीहरुको साथमा न कुनै दल छन्, न त तिनका नेता कार्यकर्ता नै छन् ।
एकातिर भुँईमान्छेहरुलाई भोकको समस्याले च्यापेको छ भने अर्कोतर्फ कोरोनाको उपचार गराउनु भनेको आकाशको फल खानु सरह भएको छ । विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष चयनदेखि धारा निर्माण समितिमा समेत तछाड र मछाड गर्ने नेपालका राजनीतिक दल र तिनका कार्यकर्ताले कोरोना कहरमा राज्यले देखाएको उदासिनताको पक्षमा केही बोल्न र समस्या समाधानका निम्ति दवावमुलक कार्यक्रम गर्न आवश्यक ठानेनन् ।
राज्यको फितलो व्यवस्थापनको कारण कोरोना संक्रमणले महामारीको रुप लिने अवस्थामा पनि नेपालका राजनीतिक दल र तिनका नेता कार्यकर्ताले ढलेको सिन्को भाँच्न सकेनन् । चुनावको बेला चामल बाढ्दै हिँड्नेहरु गरिब दुखीको घरमा राहत वितरण गर्ने हिम्मत पनि गर्न सकेनन् । चुनावताका गाडीका गाडी माइक हालेर ध्वनी प्रदुषण गराउन सक्नेहरुले आमनागरिकको उपचारका लागि सामान्य पहल समेत गर्न सकेन ।
चुनावताका जनताको समस्याहरुलाई समधान गर्छौं, गलत कामको विरोध गर्छौं भन्नेहरुले अहिले जनताले उपचार नपाएर मनुपर्ने अवस्था सिर्जना हुँदा न केही गर्न सक्यो न केही नै बोल्न सक्यो ? चुनाव ताका न्याय, समानता र परोपकारी राज्यको नारा उचाल्नेहरुले कोरोना उपचारका नाममा निजी अस्पतालले लुट मच्चाउँदा एक शब्द खर्च गर्न आवश्यक ठानेनन् ।
के नेपाली राजनीतिक दल र तिनका नेता कार्यकर्तालाई जनता भनेको भोट हाल्ने बेलामात्र चाहिने हो कि जनताका समस्यामा पनि हो ? के दल र तिनका नेता कार्यकर्ताका लागि जनता भनेका कण्डम हुन्, जो चुनावको बेला मात्र प्रयोग हुन्छ ? प्रतिपक्षमा रहेका दलका नेता कार्यकर्ताले सरकार हाम्रो छैन, आन्दोलन गर्ने अवस्था पनि छैन भनेर उम्किन पनि सक्छन् । तर चुनावको बेला एकै निर्वाचन क्षेत्रमा करोडौं खर्च गर्नेहरुलाई जनताको समस्याले कनि दुख्दैन ? भन्ने प्रश्न मुख्य प्रश्न आएको छ ।
राजनीतिक नियुक्तिमा ¥याल काडेर बस्ने अनि आफ्नो दलका कार्यकर्ता नियुक्ति भएनन् भने रोडका रेलिङ फाल्न तयार हुने दलले जनताको दैनिकी सञ्चालनमा अफ्ठ्यारो परेको अवस्थामा पनि किन केही पहल गर्न र दलका नेता कार्यकर्ताहरु जनतासँगै छन् भन्ने कुराको अनुभुति दिलाउन किन सकेन ?
कास्कीमा पनि मुलत नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र साझा पार्टीको राम्रै उपस्थिति छ । तर जनताको समस्या पर्दा जनताले कुनै दलका नेता कार्यकर्ता भएको अनुभुति गर्न पाएनन् । न कोरोनाका कारण चुल्हो निभेका गरिब, किसान र मजदुरहरुको भान्सामा दलमा नेता कार्यकर्ता भएको अनुभुति हुन सकेन । नत चुनावमा चन्दा दिने व्यवसायीका लागि मलम लगाउने काममा दलका नेता कार्यकर्ता भएको अनुभुति भएन ।
चुनाव ताका ठुला कुरा गर्ने तर जनताको समस्यामा कहीं नदेखिने दल र तिनका नेता कार्यकर्ता नहुनुमा आम जनताले केही फरक अनुभुति गर्न पाएनन् ।