कोरोना संक्रमण रोक्न ल्वाङ गाउँमा अचम्मको नियम (भिडियो सहित)

राजु गिरी 
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ मा पर्ने ल्वाङ गाउँ मंसिर ३ गतेसम्मका लागि गाउँ प्रवेश रोक लगाइएको छ । कोरोना महामारीले गाउँलाई पनि असर पार्न सक्ने भन्दै त्यहाँका स्थानीय, सामुदायिक होमस्टे तथा ल्वाङ टोल विकास संस्थाले बाटो बाँस तेर्साएर प्रवेशमा रोक लगाएको हो ।

गाउँ प्रवेश रोक लगाइए पनि गाउँदेखि पोखरा हरिचोकसम्मको बस भने सञ्चालनमा छ । बसबाट बजार जाने स्थानीयलाई बेलुका सोही बसबाट आएमा प्रवेशमा नरोकिने प्रवेशद्वारमा बसेका ल्वाङ टोल विकास संस्थाका सचिव अर्जुन दमै परियारले बताए । यो अचम्मको नियम सुन्दा तपाईंलाई पनि अनौठो लाग्न सक्छ । कोरोनालाई रोकथाम गर्न गाउँ प्रवेशमा रोक लगाउनु समितिको निर्णय स्वागत योग्य छ तर त्यही गाउँका स्थानीय बजारदेखि गाउँ प्रवेश गर्दा के गाउँमा कोरोना संक्रमण नभित्रिएला ?

यस विषयमा त्यहाँका वडाध्यक्षसँग बुझ्दा गाउँमा कोही कसैलाई छिर्न नदिने भन्ने बारेमा आफू जानकार नभएको तर संक्रमण बढ्ने खतरालाई रोक्न होमस्टे सञ्चालन नगर्ने निर्णय भएको बताए ।

यता ल्वाङमा क्यान्योनिङ व्यवसाय सञ्चालन गर्दै आएका बोनी गुरुङ टोल विकास समितिको निर्णय स्वागतयोग्य रहेको बताए । तर अहिले क्यान्योनिङको सिजन भएको र गाउँको पहिचानलाई मजबुत गराउने क्यान्योनिङलाई सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्ने बताएका छन् । उनी भन्छन्, ‘महामारीका बेला सजक हुनु एकदम जरुरी छ । क्यान्योनिङ खेल्ने ठाउँसम्म गाउँ प्रवेश नगरि जान सकिने हुँदा क्यान्योनिङ रोक्ने कदम गलत छ ।’

थप जानकारी भिडियोमा :

कमेन्टहरु
Loading...