ऋषिकान्त पौडेल।
सम्भवत पोखराका स्थानीयले सबैभन्दा बढी प्याराग्लाइडिङ गरेको यो वर्ष नै होला । ७ महिनादेखि ठप्प पर्यटकीय पोखराको पहिचान बोकेको प्याराग्लाइडिङको शुल्कमा भारी छुटको अफरसहित कम्पनीहरुले सराङकोटमा प्याराग्लाइडिङको कावा खुवाएसँगै पोखरेलीले आफ्नै आँगनको महत्व बुझेका हुन् । हुन त यो समय आन्तरिक पर्यटकको भीड लाग्ने बेला हो पोखरामा ।
लेकसाइडका गल्ली गल्लीमा आन्तरिक पर्यटकको आगमनले हरेक क्षेत्रका व्यापारीलाई भ्याई नभ्याई हुने गथ्र्यो । तर त्यो दृश्य खासै छैन । यद्यपी दसैं बिदाका कारण विस्तारै चहलपहल भने बढ्दो छ । काठमाडौं, पूर्वका विभिन्न जिल्ला र पश्चिमतिरबाट बाइकमा हुइकिँदै पोखराको लेकसाइड कता हो भनेर बाटो सोध्ने पनि छन् । फेवाताल किन यति शान्त भनेर जिज्ञासा राख्ने पनि छन् ।
दिनभर फेवामा डुंगा सयर गर्दै पोखराको अर्को पहिचान रात्रिकालिन जिन्दगी बिताउन चाहने पनि छन् । तर अफसोच विगतका झैं यो वर्ष लेकसाइडले रात्रिकालिन पछ्यौरी फिजाउन पाएकै छैन ।
पश्चिमा मुलुकका पर्यटकलाई त नेपाल त्योमाथि पोखरा आउन कुनै सिजन नै चाहिँदैन भने पनि हुन्छ । ट्रेकिङमा प्रख्यात अन्नपूर्ण सर्किटका लागि समेत न जाडो न गर्मी भन्ने उनीहरुलाई ७ महिनादेखि इन्टरनेटमा कोरोना कहरको नेपाल अपडेट हेनुबाहेकको विकल्प नै छैन । कोरानाले निम्त्याएको लकडाउन परिस्थितिमा नेपालमै अड्केका कतिपय आफ्नै मुलुक फर्किसकेका छन् भने आफ्नो मुलुकभन्दा नेपालमा सुरक्षित महसुस गर्नेहरु साँझपख फेवा किनारमा रुमल्लिएका मात्रै देख्न सकिन्छ । जसलाई न लेकसाइडको रात्रिकालीन जिन्दगी कहिले खुल्ला भन्ने चिन्ता छ, न पोखराका साहसिक गतिविधि कहिले सुरु होलान् । खाली चिन्ता छ त कोरोना कहर कहिले सकिएला अनि आफ्नै मुलुक फर्किन पाइएला ।
सेप्टेम्बर, अक्टोबर, नोभेम्बर महिना पश्चिमा मुलुकका मात्रै होइन, छिमेकी भारतीय पर्यटक र चाइनिज पर्यटकको पनि सिजन हो । अझ भनौं भारतीय पर्यटकका लागि त पोखराको फेवातालमा डुंगा सयर गर्ने, बिहानै सराङकोटबाट सुर्योदय हेर्ने, त्यसपछि विन्दवासिनी मन्दिर दर्शन गर्दै सम्भव भएसम्म मुक्तिनाथसम्को यात्रा तय गर्नु विस्तारै चलन नै भइसकेको थियो ।
पछिल्लो समय यातायात सेवाका लागि आन्तरिक रुपमा एक गन्तव्यदेखि अर्को गन्तव्यसम्म सहज भएपनि भारतीय पर्यटक नै आउन सक्ने अवस्था नभएपछि त्यो चलनमा ब्रेक लागेको छ । त्यस्तै चाइनिज पर्यटकको पछिल्लो केही वर्ष यता मुख्य आकर्षण बनेको प्याराग्लाइडिङलाई नेपाली अझ स्थानीयको भर पर्नुपरेको अवस्था छ ।
चिनियाँ पर्यटकलाई समेत पोखरामा आउन कुनै सिजन नै चाहिँदैनथ्यो, छ्याप्छ्याप्ती भेटिन्थे, लेकसाइडका मुख्य र भित्री गल्लीमा । त्यतिमात्रै होइन, पोखरामा ठूलो संख्यामा होटल तथा रेष्टुरेण्ट व्यवसाय नै चलाएर बसेका थिए । कोरोना कहरपछि उनीहरुले अधिकांश व्यवसाय मात्रै छाडेनन्, स्वदेश फर्किए र पोखरालाई एक किसिमको सुनसान र सौम्य बनाए पनि ।
कोराना संक्रमण दिनैपिच्छे बढ्दो छ पोखरामा । तैपनि लेकसाइड ब्युतिने प्रयासमा छ । मानौं, ७ महिनाको लामो निद्रापछि । अरबौं लगानी रहेको पोखराको होटल व्यवसाय विस्तारै उठ्न खाज्दै छ । बिडम्वना अर्काको घर भाडामा लिएर व्यवसाय गर्नेका लागि भने पर्यटक नै नभएपछि घरधनीको आँखी हुन नै चाहेका छैनन् । होटलको गेट नखोलौं बैंकको ब्याज प्रत्येक सेकेण्डमा दौडिरहेछ, गेट खोलौं पर्यटक छैनन्, घरधनी भाडामा कडाई गर्छन् । यद्यपी फाट्टफुट्ट खुलेका मध्यम र स्ट्याण्डर्ड होटलको अकुपेन्सी आन्तरिक पर्यटकले भने भरिभराउ छ ।
प्याराग्लाइडिङ सँगै साहसिक गतिविधिमार्फत् पर्यटनलाई ब्युताउने अर्को प्रयास क्यानोनिङले सुरु गरेको छ । त्यहाँ पनि बाहिरी जिल्ला होइन, पोखराकै स्थानीय बाहेक अन्य पर्यटकको उपस्थिति शुन्य प्राय छ । लेकसाइडका ट्राभल एजेन्सी पोखरा चिनाउने गतिविधिको प्रचार र विजनेस होइन, पोखरा काठमाडौंको बस तथा जहाज टिकट त्यो पनि अफरसहितको बेच्नमात्रै खुलेका छन् । न कुनै ¥याफ्टीङको प्याकेज बुक गर्ने पर्यटक छ, न कुनै अल्ट्रालाइट फ्लाईट बुक गरेर अन्नपूर्ण हिमश्रृंखला हेर्ने समूह छ । अल्ट्रालाइट फ्लाइट त तत्काल सुचारु हुनै नसक्ने अवस्थामा छ । कारण अहिलेकै परिस्थितिमा अफर ल्याएर त पर जाओस्, पहिलेकै शुल्क लिदा पनि खर्च धान्न नसक्ने सञ्चालक बताउँछन् । हुन पनि सञ्चालन ग¥यो भने आफूलाई आर्थिक हिसाबले झन् धरासायी बनाउन उनीहरु चाहँदैनन् ।
सरसर्ती लेकसाइड भनेर चिनिने बसुन्धरा पार्कदेखि खहरेचोकसम्म सयौं सोभिनियर सप, ट्रेकिङ सप, रेष्टुरेण्ट सञ्चालनमा छन् । ती मध्ये कतिपय खुलेका पनि देखिन्छन् । ग्राहक नै नभएपछि खुल्नुको समेत अर्थ देखिएको छैन । अर्थात् त्यस्ता पसलमा राखिएका सामानहरुले स्वयं सञ्चालक व्यवसायीलाई नै गिज्याइ रहेछन् र गिज्जिने ग्राहक चाहिँ ग्राहकको पखाईमा छन् ।
हुन त पोखरालाई सौखिन सहरका रुपमा पनि चिन्छन् मान्छेले । ढुंगा टाँसेका घरमा बस्नु, हप्तामा २/३ पटक लेकसाइडतिर फेवा किनारमा बियरको चुस्की र त्यसपछि थकाली खानाको स्वादसँगै घर फर्कनु नौलो कुरा हुँदै होइन । नगन्य संख्यामा रहेका डिस्कोथेक र प्रशस्तै रहेका लाइभ म्युजिक बारहरुको मज्जा लिन युवायुवतीलाई शुक्रबार नै आउन पर्दैन ।
तर ७ महिनादेखि त्यो स्टप्ड छ । केही केहीले ताते ताते पनि गर्न खोज्दैछन् । तर प्रशासनले अझै लेकसाइडको रात्री जीवनमा संजीवनी दिएको छैन । यतिमात्रै होइन, लेकसाइडका हरेक ढुंगा माटो र गतिविधि छप्पड फोरेर खुसी बाँड्न चाहेका छन् प्रयास गरेका छन् । बीचमै तगारो छ बढ्दो कोरोना संक्रमणको अवस्था । त्यसैले त लेकसाइड खुल्यो तर लेकसाइड खुलेन ।