मृतकहरुसंग थुप्रै रात काट्दा…

पोखरा । जिल्ला समन्वय समिति तनहुँका सदस्य गल गुरुङको यसपालीको दशैं आइसोलेशनमा बित्यो । जति समय आइसोलेशनमा विताए ति सबै क्षण कहिल्यै नविर्सने गरि उनको मानसपटलमा बसेका छन् । जनप्रतिनिधी जनताका हरेक सुख दुखः मा घर दैलोमा पुग्नै पर्ने दायित्व एकतर्फ थियो भने । अर्को तर्फ महामारी कोरोनाबाट बच्नु पर्ने त्रास पनि थियो ।

‘जनप्रतिनिधि भएको नाताले विभिन्न भेला विभिन्न ठाउमा जानू पर्ने कतिबेला कसरी अदृश्य भाइरसले संक्रमित भैयो थाहा नै पाईएन’, उनी भन्छन् ।

कोरोना संक्रमण हुनुभन्दा बढि तनाव उनले यसको उपचारको क्रममा झेलेका छन् । गुरुङ संक्रमणको केही समय आइसोलेट भएर घरमै बसे । थप उपचारका लागि पोखरा जानुपर्ने भयो । दमौलीको हस्पिटलमा एक्सरे र रगत जाँच गराउँदा फोक्सोमा समस्य आईसकेकोले तुरुन्तै पोखरा जानु भन्ने सल्लाहपछि एम्बुलेन्स लिएर पोखरा गण्डकी हस्पिटल पुगे । उच्च ज्वरोले थलिएका उनलाई त्यही ज्वरोका कारण अस्तपालले भर्ना लिन मानेन ।

पढ्नुहोस् : कोरोना जितेका तनहुँ जिल्ला समन्वय समिति सदस्य गुरुङको अनुभव…

जनप्रतिनिधि भएको नाताले विभिन्न भेला विभिन्न ठाउँमा जानू पर्ने कतिबेला कसरी अदृश्य भाइरसले संक्रमित भैयो थाहा नै पाईन । कोभिड हो भन्ने शंका नै थिएन त्यसैले मौसमी ज्वरो होला निको भै हालिन्छ भनेर एक्लै क्वाटरमा आईशुलेट भएर बसे । दमौलीकै हस्पिटलहरुमा चेकअप गर्दै दबाई खादै बसे तर ज्वरो झन बढ्दै गयो ।

९/१० दिन दिन पानीभन्दा केही पनि रुचेन ज्वरो झन बढ्दै १ सय ३ डिग्री सम्म पुग्यो । ओछ्यानबाट चल्न नसक्ने अवस्थामा पुगे । झण्डै बेला बेलामा होस नै हराएको जस्तो हुने सास फेर्न एकदमै गाह्रो हुँदै थियो । बिचमा पोखरा जाने सोच पनि नबनाएको होईन तर ज्वरो भनेपछि गाडी पनि पाइएन र केही दिनपछि अफिसबाट चेकअप गर्न जाने भनेर जिसस प्रमुख, उप प्रमुख, समन्वय अधिकारी र जिसस सदस्य साथीहरूले जिसस सदस्य दिब्यश्वरी बैनी र कार्यलय सहयोगि दिल राना दाईलाई एम्बुलेन्स लिएर क्वाटरमा पठाउनु भएको रहेछ ।

दमौलीको हस्पिटलमा एक्सरे र ब्लड चेकपछि फोक्सोमा समस्या आईसकेकोले तुरुन्तै पोखरा जानु भनेपछि एम्बुलेन्स लिएर पोखरा गण्डकी हस्पिटल पुगे तर गण्डकीमा उच्च ज्वरो भने पछि भर्ना लिन मानेन। पिसिआरको लागि भोलि आउनु अहिले घर जानू भने पछि झन पीडा थपियो । एकातिर सास फेर्न एकदमै गाह्रो भैरहेको थियो अर्कोतिर उच्च ज्वरोले सपना जस्तै भै रहेको थियो । केही सोच्न पनि सकिरहेको थिइन । अब भर्ना नलिने भएपछि गाडी खोजे त्यँहा पनि त्यही समस्या ज्वरोको बिरामी भनेपछि गाडी नै मानेन । केही विकल्प नदेखेपछि हस्पिटलको प्राङ्गणमा नै थचक्क बसे । केही समयपछि पुर्ब मन्त्री शंकर भण्डारी दाईले गण्डकीको ईन्चार्ज अर्जुन आचार्य सरलाई कुरा गर्नु भएछ र बल्ल बल्ल ईमर्जेन्सीको एउटा कुनामा लगेर राखी दियो ।

फेरि केही समयपछि त्यहाँबाट पनि प्री आईसोलेशनमा लगियो र अक्सिजन दिईयो बल्ल केही राहत महशुस भयो । ज्वरोको दबाई चलाउन शुरु गरेपछि जरो पनि कम भयो र पीडा पनि कम भयो । तर सास फेर्न चाहिँ गाह्रो भइरहेको थियो । भोलिपल्ट पिसिआर टेस्ट भयो र पर्सिपल्ट रिपोर्ट पोजेटिभ आयो । सास फेर्न एकदम गाह्रो भइरहेको बेला स्वास्थ्यकर्मीले रिजल्ट पोजेटिभ आएको खबर सुनाउँदा त्यो समय झन पीडा भयो । तैपनि आफुलाई सम्हाले।

पोजेटिभ त आयो फेरि आईसोलेशनमा बेड छैन भनेर तनाब दियो । एक दिन प्री आईसोलेशनमै बसेपछि बल्ल बल्ल भोलिपल्ट आईसोलेशनको आईसियुमा लगेर राखियो । आइसियुमा पुगे पछि बल्ल थाहा भयो कोरोना के हो भन्ने । स्वास फेर्न गाह्रो भएर आफ्नै अगाडी मान्छेहरु भटाभट मरि रहेको प्रत्यक्ष देखे । आफ्नै आँखा अगाडी मान्छे मर्दै प्लाष्टिकमा बेर्दै लादै गर्दा कति आत्तिए त्यो पल सम्झदा पनि जीउमा काँडा उम्रेर आउँछ। मरिसकेपछि पनि आफ्नो आफन्तले लान नपाउने आर्मिहरु आएर लाने नियम रहेछ आर्मिहरु आउन ढिलो भएको दिनहरुमा कति दिन त छेउको बेडको लासहरुसगैं रात बिताउन पर्यो ।

मान्छे नमरेको दिन हुदैनथ्यो आफ्नै बेडको छेउमा मान्छे मर्दा कति रात आँखा चिम्म नगरी छर्लङ्गै पारियो । धेरैले कोरोना साधरण फ्लू हो केही होईन भन्छन् तर त्यसो भन्नेहरु कोरोनाको आईसियुमा मात्रै ३/४ मिनेट गएर हेर्यो भने कोरोना के हो प्रष्ट हुन्छ। केहि दिन आईसियुमा बसेर केही रिकभर भएपछि नर्मल बेडमा सारियो । बल्ल केही राहत भयो त्यसपछि भने बाँच्छु भन्ने आश पलायो। दशैंभरी आईसोलेशनमा नै बसियो आईसोलेशनमा रहदा धेरै स्वास्थ्यकर्मिहरु हामी सगैं आईसोलेशनमा नै थिए। धेरै स्वास्थ्यकर्मिहरु आफ्नो परिवार छाडेर संक्रमितको उपचारमा खटिएका छन । त्यसैले सबै स्वास्थ्यकर्मिलाई सम्मान गरेर उनीहरुको मनोबल बढाउन पर्छ । समाजमा अब झन् संक्रमितहरु बढ्दै गइरहेको छ त्यसैले संक्रमितहरुलाई घृणा नगरी आईसोलेसनमा बस्न सहज वातावरण मिलाउन पर्छ । अनि मात्र कोभिडको यो लडाईमा सफलता पाउन सकिन्छ।

अबको दिनहरु झन भयवह हुने निश्चित छ त्यसैले थोरै बेडको भएपनि हरेक पालिकाले आईसोलेशन बनायो भने केही सहज होला हैन भने अब सरकारी हस्पिटलहरुमा बेड पाउन ठुलै युद्ध जित्न पर्छ त्यो सर्वसाधारणको पहुँचको कुरा पनि भएन।

कमेन्टहरु
Loading...