बाँके । बाँकेमा रहेका २ कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ संक्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार, गम्भीर बिरामीमध्ये, १ जनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भईरहेको छ ।
उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताएका छन् । बाँकेमा १ सय ७७ जना संक्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
बाँकेमा हालसम्म ३ हजार ४० जनामा कोरोना संक्रमण देखिएकोमा ३० जनाको ज्यान गइसकेको छ भने २ हजार ७ सय १२ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल २ सय ९८ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिएका छन् । रासस