‘स्कुल ड्रेस नै दशैँको लुगा हुन्थ्यो – बिश्व सिग्देल

  • सौगात पोखरेल

दशैँ भन्ने बित्तिकै नयाँ लुगा ,पिङ ,झ्याउरे गीत र मासु सँगसँगैै जोडिएर आउने गर्छ । सायद हामी दशैँ भन्ने बित्तिकै हामी हाम्रो बालापनमा फर्किन्छौँ । हाम्रो स्मृतिमा बालपनको यादहरु ताजा बनेर फनफनी घुम्छ । हामी कहिलेकाहि हाम्रै बिगत सम्झेर नोष्टालजिक हुन पुग्छौँ । दशैँको बारेमा सबैको आ–आफ्नै अनुभबहरु छन् । अध्येता बिश्व सिग्देलको पनि दशैँ सम्बन्धी यस्तै अनुभुतिहरु छन् । पोखरा र पोखरा आसपासका ठाउँको दर्शैको बारेमा बिश्व सिग्देलसँग गरिएका कुराकानी हामीले आज राख्न खोजेका छौँ ।
‘केटाकेटीले दशैँमा निधारमा लागेको टिकाको चामलसमेत खान्थे । चामल र त्यसको भात खाने सपना मात्रै हुन्थ्यो । दशैँको बेला घरमा केटाकेटीलाई स्कुलको ड्रेस किनिदिने चलन थियो । त्यही पनि पुरै जोर होईन । कट्टु च्यातिएको छ कि कमिज च्यातिएको छ भन्ने कुराले कुन चाँही किन्ने भन्ने तय हुन्थ्यो । मैले स्कुले जीवनमा एकैचोटी तलमाथीको नै नयाँ ड्रेस लगाएको अनुभव छैन । मासु चाडवाडमा मात्र खाने चलन थियो । त्यो पनि दशैमा सिँगै होईन खुट्टा भाग लगाएर खान्थे । मासु खान नसक्नेहरुले खिर,लट्टे र रोटी लगायतका परिकार खान्थे । हिजोको त्यो पोखरा आजको पोखरा सम्म आईपुग्न थुप्रैको योगदान रहेको छ ।’ सिग्देल भन्छन् ।
खास गरि पोखराका दुई सभ्यताहरु छन् । सेतीवारीको बुलौदी खोलाको सभ्यता र सेती पारिको काँहुखोलाको सभ्यता हुन् । कुनै पनि शहरको सभ्यता निर्माणका लागि नदीहरुले ठुलो भुमिका निर्वाह गरेका हुन्छन् । पोखरेली सभ्यता निर्माणमा यी दुई नदीहरुको ठुलो भुमिका छ । तर पोखरालाई बीचबाट चिरेर बग्ने सेती नदीको भने पोखरा निर्माणका लागि खास योगदान छैन । जब पोखरामा सिँचाईका लागि नहरहरु बनाईए, तब मात्र यो नदीको प्रभाव पोखरेलीमाझ परेको सिग्देल जिकिर गर्छन् ।
सेतीपारी नहर निर्माण पछि मात्र सिँचाई भएको सिग्देल बताउँछन् । गह्रागह्रा पानी पुगेपछि मात्र सेतिपारीका पोखरेलीहरुले धानको भात खान थालेको उनी बताउछन् । त्यो भन्दा अघिको समयमा सेतीपारी चामलको भात दशैँको समयमा मात्र खाने चलन रहेको उनी सम्झन्छन् ।
सिग्देलसँग हामी निरन्तर सम्बाद गरिरहने छौँ ।

 

कमेन्टहरु
Loading...