नमुछे आमा दहीमा टीका …

‘नमुछे आमा दहीमा टीका, नछरे जमरा ….’ नारायण रायमाझीको स्वरमा समाजको प्रतिविम्ब बोकेको यो गीतले हरेक विदेशिएको नेपालीको व्यथालाई शब्दमा उतारिदिएको छ । हरेक वर्ष नेपालीहरुको महान चाडपर्व दशैं र तिहार आएसँगै चाड मनाउन फर्किनेको लर्को हुन्छ । अरबको खाडीदेखि झिलिमिली शहरको कुनै कोठाको कुनामा यही गीतले स्थान पाउँछ ।

 

यदि यसवर्ष परिस्थिति सहज भइदिएको भए दशैं मनाउनकै लागि भनेर स्वदेश फर्किने नेपालीको विमानस्थलमा लर्को हुन्थ्यो । तर यो वर्ष कोरोना महामारीले विदेशिएका नेपालीको मात्र नभई स्वदेशमै रहेका हरेक नेपालीको चाडपर्वलाई खल्लो बनाएको छ । यही महामारीकैबीच नेपाली रमाउन खोजिरहेका छन् । गाउँघरमा जस्तो पर्वको उमंग नभएपनि नेपालीले विदेशमै दशैं मनाइरहेका हुन्छन् । देशबाट परै रहेपनि उनीहरुले निधार खाली भने राख्दैनन् । यद्यपि अहिलेको दशैंमा भने कोरोनाले त्यही हर्ष पनि खोसेको छ ।

 

विदेशिएर दुई वर्ष बिताइसकेकी अनुष्का श्रेष्ठ दाहाल यसवर्ष पनि दशैं अष्ट्रेलियामै मनाउने सोंचमा छिन् । उनलाई पढाइकाकारण यसवर्ष पनि दशैंका लागि नेपाल आउने समय जुरेन । नेपालमा हुने दशैंको रौनक नै बेग्लै भएको उनी सुनाउँछिन् । ‘दशैं मनाए पनि नेपालमा जस्तो हुन्न, यहाँ आफन्त भन्दा मन मिल्ने साथीभाइसँग टीका लगाइन्छ । नेपालमा एक महिना अघिदेखिको रौनक यहाँ कहाँ हुन्छ र’ उनी भन्छिन् ।

 

गतवर्ष पहिलोपटक विदेशैमा दशैं मनाएको अनुभव साट्दै उनी भन्छिन् ‘अघिल्लो वर्ष राती १० बजे काम सकेर ११ बजे टीका लगाएकी थिए ।’ नेपालमा क्यालेन्डरमै बिदा छुट्याइने तर विदेशमा बिदा मागेपनि नपाइने उनको अनुभव छ । उनी भन्छिन् ‘बिदा माग्दा कामै छाड्नु पर्ने हुनसक्छ ।’ चाडपर्वको समयमा परिवारको याद भने नरमाइलोसँग आउने उनले बताइन् ।

 

अहिलेको समय कोरोना महामारीले धेरैको घर आउने रहर तुहिएको छ । ४ वर्षअघि कमाउनै भनेर साउदी अरब पुगेका प्रकाश शाहको पनि दशैंमा घर आउने सपना अधुरै रह्यो । विदेशिपछि ०७४ सालमा अन्तिम पटक परिवारसँग दशैं मनाएपश्चात् शाह अरबको तातोमा दशैंको सम्झना संगाल्दैछन् । त्यसमाथि घरपरिवारको यादले मन झनै अमिल्याइदिने उनले सुनाए ।

‘बाह्रैमास झिलिमिली बिजुलीबत्तीमा रंगिने यो समयमा नेपालीहरुको मन भने अँध्यारो हुन्छ’ शाह भन्छन् ‘घरमा बालिने दियो र जमराको अगाडि सहरका बत्तीहरु फिकाप्रायः लाग्छ । यसवर्ष दशैंमा आउने योजना बुनेका उनलाई कोरोना तगारो भइदियो । ‘नरमाइलो लागेको छ, यता साथीसँग चाड मनाए पनि घरपरिवारसँग भएजस्तो हुँदैन’ उनी मलिन सुनिए ।

 

मुस्लिम देशमा रहेकाले उनले चाडपर्वको रौनक कहिल्यै महसुुस गर्न नपाएकोमा दुखेसो पोख्दै उनी भन्छन् ‘दशैं मनाउनु भनेको रमाइलो मात्र हैन ठूलाबडाको आर्शिवाद थाप्ने सौभाग्य पनि हो ।’ यदि विश्वव्यापी कोरोनाको कहर हुँदैन थियो भने शायद उनी यस वर्ष सल्यानमा घर छेउको चौरमा पिङ हाल्दै हुन्थे होला ।

 

उसो त नेपाल विदेश होमिएका नेपालीको रेमिट्यान्सले चलेको मुलुक हो । विश्वको विभिन्न कुनामा नेपालीहरु रोजगारीकै शिलशिलामा पुगेका छन् । देश र जनता गरिब भएको परिणाम हो विदेशिनु । र, विदेशिनुको अर्थ हो ‘आफ्ना’लाई छाडेर गाँसवासकै जोहो गर्न टाढा पुग्नु । यसरी टाढा पुगेका अर्का पात्र हुन् गोरखाका माधव मरहठ्ठा ।
५ वर्ष यता उनी फ्रेञ्च आर्मीमा छन् । जति वर्ष पुग्यो उनको जागिर त्यति नै वर्ष भयो उनले दशैं ‘मिस’ गरेको । यसवर्ष पनि उनको दशैं त्यस्तो खास छैन । उनी रहेको स्थानमा दशैैंको रौनक पनि त्यति धेरै हुँदैन ।

त्यसो त फ्रान्समा नेपालीले सेनामा भर्ती हुने अवसर पाउन थालेको पनि धेरै भएको छैन । ‘५ वर्ष भयो परिवारसँग दशैं नमनाएको, नेपालमा जस्तो रमाइलो त कहाँ हुन्छ र’ उनले भावना पोखे । उनले उतैबाट भने, ‘परिवारजन र सम्पूर्णमा दशैं, तिहारको शुभकामना ।’

 

 

कमेन्टहरु
Loading...