काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद थप नगर्ने अडान लिए पछि विज्ञापनलाई नियमन गर्ने ऐन २०७६ को दफा ६ अनुसार शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टिभी च्यानलमा क्लिन फिड लागू भएको छ ।
सो ऐन अनुसार कार्तिक ७ गतेभित्र क्लिन फिड लागू भइसक्नुपर्ने व्यवस्था रहेको भए पनि यो व्यवस्था लागू हुन सकेको थिएन । विभिन्न विदेशी च्यानलले नेपालमा क्लिन फिड लागू गर्नुभन्दा अगाडि म्याद थप गर्न आग्रह गरेका थिए । तर नेपाल सरकारले अस्वीकार गरेको थियो । नेपालमा प्रसारण हुँदै आएका विभिन्न विदेशी च्यानलको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसंग रहेको छ ।
क्लिन फिड लागू नभएपछि नेपालमा स्टार्स, कलर्स, कार्टुन च्यानल, बिबिसी, सिएनएन, डिस्कभरी प्याकेजका च्यानल नेपालमा तत्काल प्रसारण हुने छैनन् । सोनीका ८ तथा ‘जी’ का १२ वटा च्यानल भने क्लिन फिड सहित नेपालमा प्रसारण हुँदै छन् ।
क्रिकेट सहित फुटबल खेल प्रसारण हुने खेलकुद च्यानल समेत नेपालमा बन्द भएका छन् । खेलकुद प्रसारण गर्ने च्यानल बन्द भए पछि नेपालमा अब हाल जारी रहेको इन्डियन प्रिमियर लिग (आइपिएल) तथा इंग्लिस प्रिमियर लिग (इपिएल) नेपालमा हेर्न नपाइने भएको छ ।
यस्तै धेरै जस्तो समाचारका च्यानलहरुले नेपालमा क्लिन फिड सहित प्रसारण गर्न नमानेपछि ‘जी’ न्युजमात्र प्रसारणमा आउने भएको छ । भारतीय प्रसारकहरुले अन्य च्यानलभन्दा खेलकुदका च्यानललाई व्यवस्थापन गर्ने प्रतिक्रिया दिएका छन् ।