पोखरा । नवरात्रको आठौं दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दुर्गाभवानीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको आठौं दिन दुर्गाभवानीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।
महान चाड बडादशैंको आठौं दिन आज महाष्टमी पर्व भव्यरुपमा मनाउँछन् ।
आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।
आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमददेवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतम बताउँछन् । ‘सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो,’ उनले भने । ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको छ ।
आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविदको भनाइ छ । चण्डीको आठौंँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने धर्मशास्त्रविद् प्रा। डा। गौतम बताउँछन् । ‘राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ’, उनले भने । यी तीन शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो ।