काभ्रेपलाञ्चोकमा शव व्यवस्थापन चुनौती

काभ्रपलाञ्चोक । कोरोना संक्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा चुनौती देखिएको छ । जिल्लास्थित संकट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ । जिल्लामा बुधबारसम्म ८ पुरुष र ७ महिला गरी १५ को कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

हालसम्म ज्यान गुमाएकाको सरकारद्वारा कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव अन्त्येष्टी गर्न प्रयोगमा ल्याइएको काठमाडौं पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने गरिएको छ । उक्त गृहमा हाल चाप बढ्दै गएपछि कोरोना संक्रमणबाट काभ्रेपलाञ्चोकमा ज्यान गुमाएकालाई वैकल्पिक व्यवस्थापनका लागि जिल्लास्थित १३ स्थानीय तहमा स्थानको खोजी गर्न थालिएको हो ।

संक्रमितको अस्पतालमा मात्र नभई होम आइसोलेसनमा समेत ज्यान जान थालेपछि केन्द्र तथा जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले वैकल्पिक शव व्यवस्थापनमा ध्यान दिएको हो ।

‘पछिल्ला केही दिनदेखि दैनिकजसो संक्रमितको ज्यान जान थालेपछि स्थानीयस्तरमै शव व्यवस्थापनका लागि स्थानको खोजी थालिएको हो, स्थानीय तहका जनप्रतिनिधिले यस विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ ।’ केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने । उनका अनुसार हाल २ स्थानीय तहले आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न सकिने प्रस्ताव गरेको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका विद्यार्थीले कोरोना संक्रमणका कारण अस्पतालमा ज्यान गुमाएकाको शव व्यवस्थापन गर्न मानिसले छुनु नपर्ने ‘रोबो–भ्यान’ निर्माणमा जुटेका छन् ।

रिमोटबाट चल्ने यो भ्यानले मृत शरीरलाई अस्पतालको शैयाबाट शववाहनसम्म तथा शव वाहनबाट घाटसम्म लैजान सहयोग गर्ने रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले बताए । कात्तिकभित्रै निर्माण सक्नेगरी खटेको टोलीका लागि नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)ले आर्थिक सहयोग गरेको छ ।

काभे्रपलाञ्चोकमा बिहीबारसम्म ५ सय २५ महिलासहित १ हजार ३ सय ७१ मा कोरोना संक्रमण देखिएको छ । कूल संक्रमितमध्ये ६५ प्रतिशत अर्थात् ८ सय ८७ संक्रमणमुक्त भएको पोष्टले जनाएको छ । सक्रिय संक्रमितमध्ये ९३ अस्पताल र ३ सय ७७ होम आइसोलेसनमा उपचाररत छन् । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो संक्रमण देखिएको थियो । रासस

कमेन्टहरु
Loading...