पाँचथर । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर १ सैनिक जवानको ज्यान गएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुसी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट ज्यान गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दसैं बिदा मनाउन केही दिनअघि घर आएको खुलेको छ । रासस