पोखरा । मठ मन्दिर खुल्ला गर्न दवाव स्वरुप जिल्ला प्रशासन कार्यालय कास्की अगाडि हिन्दू परिषद् नेपाल, राष्ट्रिय धर्म सभा नेपाल, विश्व हिन्दू महासंघ लगायत कस्केली धार्मिक संघ–संस्था र धार्मिक अभियन्ता दीपक आचार्य, शंकर खराल, पार्वता पौडेल, कमल पौडेल लगायतले बुधबार १ घण्टे धर्ना दिएका छन् ।
सो १ घण्टे धर्ना पश्चात् जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख अधिकारी ज्ञानप्रसाद ढकाललाई विश्व हिन्दू महासंघ कास्कीका जिल्ला अध्यक्ष पार्बता पौडेलद्वारा ज्ञापनपत्र बुझाइएको थियो । विश्व हिन्दू महासंघ कास्कीका महासचिव कमल पौडेलले ज्ञापनपत्र वाचन गरेर उक्त ज्ञापनपत्र सिडियो ढकालमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी दिएका छन् ।
धार्मिक अभियन्ता विश्व हिन्दू महासंघ गण्डकी प्रदेश अध्यक्ष शंकर खरालले सबै खुलेको अवस्थामा मठ मन्दिर मात्र बन्द किन ? भनेर प्रश्न गर्नुको साथै मठ मन्दिर बन्द हुँदा सो आम्दानीबाट चल्ने गुरुकुल लगायत फुल बेचेर जीविका चलाउनेको दैनिकि समेत कष्टकर भएको भन्दै तत्काल मन्दिर प्रवेशको वातावरण बनाउन अनुरोध गरेका छन् ।
धर्ना कार्यक्रममा हिन्दू परिषद नेपाल कास्की जिल्ला इन्चार्ज दीपक आचार्यले कुन धर्म मान्ने भन्ने पुर्ण अधिकार व्यक्तिमा निहित रहेको र यो मौलिक हक भएको हुँदा यो हक प्रयोगमा राज्यले रोक्न नमिल्ने बताए । उनले भने, ‘संकटकाल लागेको अवस्थामा मात्र मौलिक हक प्रयोग गर्न नपाइने त्यो पनि बढीमा ३ महिना मात्र हो, अहिले नेपालमा संकटकाल घोषणा नभएको हुँदा यो आफ्नो संस्कार र संस्कृति मान्ने हक प्रयोग गर्न संविधान को हिसाबले पनि नागरिकले छुट पाउनु पर्छ ।’
आचार्यले अहिले भर्खर इन्डियाको बिहारमा अदालतले नै मठ मन्दिर बन्द नगर्ने गरि फैसला समेत गरेको विचार सहित संविधानलाई सम्मान गर्न राज्यसंग अनुरोध गरेका छन् ।
कास्की सिडियो ढकालले मन्त्रीपरिषदको निर्यण अनुसार नै भएको र अभियन्ताको भनाईलाई सम्बन्धित निकायमा पठाइदिने र जस्तो आदेश आउँछ त्यही हिसाबले आफू अगाडि बढ्ने बताए । मन्दिर प्रवेशमा रोक नलगाई सामाजिक तथा भौतिक दुरी कायम गरी सबै सुरक्षाका उपाय अपनाएर भए पनि मन्दिर दर्शन गर्न दिनुपर्ने माग अभियन्ताको रहेको छ ।