फ्रन्टलाइनर भगवतीः सलामी पनि, मलामी पनि

दिपक के श्रेष्ठ/रिना थापा

गत जेठको २५ गते राती करिब साढे ११ बजे कोरोना संक्रमणबाट पोखरामा एकजनाको मृत्यु भयो । स्याङजाका ६० वर्षीय पुरुषको उपचारकाक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आइशोलेसनमा मृत्यु भएप्छि गण्डकी क्षेत्रमा यो पहिलो ‘केस’ बन्यो ।

 

मुस्किलले दिनमा दर्जनको संख्यामा संक्रमित पुष्टि भइरहेकाबेला यो घटनाले पोखरेलीहरु केही बढी नै त्रसित भए । चैतदेखि सुरु भएको कोरोना कहर असारसम्म आइपुग्दा आम नेपालीहरु लकडाउनको ह्याङमै थिए । यसैबीच, आइशोलेसनमा भएको मृत्युले उनका आफन्त र पोखरेलीहरु जति तनाव र दुखमा थिए, त्यति नै तनावमा थियो अस्पताल प्रशासन र स्थानीय निकाय ।

 

अस्पताल प्रशासन र स्थानीय निकायलाई उक्त शवको व्यवस्थापना कसरी गर्ने भन्ने टाउको दुखाइकैबीच करिब साढे १७ घण्टापछि प्रशासनले फुलबारी र भलामबीच मनिपाल अस्पतालमुनि सेतीको खोंचमा शव गाड्ने निर्णयमा पुगे । संक्रमितको शवबाट पनि कोरोना फैलाउने त्रासले स्थानीयलाई गाँजेको थियो । नतीजास्वरुप वडा नम्बर ११ फुलबारीका जनप्रतिनिधिसहित स्थानीय विरोधमा उत्रे ।

 

स्थानीय प्रशासनले दिउँसै उक्त क्षेत्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरी २६ गते बेलुकी साढे ६ बजे बलपुर्वक उक्त स्थानमा शव व्यवस्थापन गरे । मृतकको शव व्यवस्थापनमा १७ घण्टा बढी लाग्नुमा एउटै समस्या थियो, शव व्यवस्थापन गर्ने जनशक्ति । त्यस बेलासम्म गण्डकी प्रदेशले संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनबारे कुनै योजना बनाइसकेको थिएन । सोही कारण मृत शव छुन वा व्यवस्थापन गर्न कोही अघि सरेनन् । मान्छे खोज्न र उसलाई मनाउनमै त्यति लामो समय व्यतित भएको थियो ।

 

पहिले केसपछि भने शव व्यवस्थापनमा नेपाली सेना अघि स¥यो । जसको जिम्मा फुलबारीस्थित भगतवीदल गणले लियो । गणलाई सहयोग गर्न पोखरा विमानस्थलको रेञ्जर्स बटालियनले काँध थाप्यो । विशेषतः विपद्काबेला आवश्यक उपकरणसहित उद्धार र सेवामा निमेषभरमै ब्यारेकबाट निस्कने गणले स्थानीय रेडक्रस अन्य मानवीय संघसंस्थासँग शव व्यवस्थापनसम्बन्धी धेरथोर तालिम लियो । त्यसो त गणसँग यस्तै अवस्थामा काम गरेको थुप्रै अनुभव पनि थियो ।

 

कोरोनासँग जुझ्न सरकारले केन्द्रमा ‘कोरोना नियन्त्रण व्यवस्थापन समिति’ (सीसीएमसी)मार्फत शव व्यवस्थापनमा सेनाको साथ खोजिरहेको थियो । अझ भनौ, अप्रत्यक्ष निर्देशन दिएको थियो । जसको सर्कुलर प्रदेशको पीसीसीएमसी हुँदै जिल्लाको डीसीसीएमसीमार्फत भगवतीदललाई यो जिम्मेवारी आइप¥यो । त्यपसपश्चात् कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको शवलाई उचित ढंगले व्यवस्थापन गर्न थाल्यो । आफन्त र छिमेकी शव हेर्न र छुनबाट वञ्चित भएकाबेला नेपाली सेनाले फुलको गुच्छा अर्पण गर्दै सलामीसहित मृतकलाई बिदाई गर्न थाले । शव गाडेपछि नेपाली सेनाले सलामी दिएको फोटो मिडियामार्फत सार्वजनिक भएपछि मृतकका आफन्त र अन्यले दुखकाबीच पनि नेपाली सेनालाई मनैबाट सलामी फर्काए ।

 

त्यसपछिका कुनै पनि दुखद घटनामा गण जिउँदाका जन्ती नबने पनि मर्दाका मलामी बनेको छ । महामारीले यति बेला दाहसंस्कार गर्ने सन्तान र मलामी दुबै सेनालाई बनाइदिएको छ । उनीहरुलाई ‘सलामी दिँदै मलामी बनेको आफना’ भन्दा फरक नपर्ला । हाल आजसम्म गण्डकी प्रदेशमा  ५७ जनाको मृत्यु भएको छ । सुरुवातमा नेपाली सेनाको तयारी फितलो हुँदा शव व्यवस्थापनले डम्पिङको रुप लिएको थियो । तर तत्काल आफनो गल्तीलाई सच्याउदै सेनाले पनि भावनात्मकरुपमा शव व्यवस्थापन गर्दा सम्मानपूर्वक सलामी दिन थालेको हो । पोखरामा पहिलोपटक शव व्यवस्थापन गरेका सेनाले आफनो अनुभव एकदमै अमिलो र नमिठो लागेको बताउँछन् ।

 

‘सुरुवातमा कस्तो होला डर लागेको थियो । शव व्यवस्थापन गरेर आएपछि पनि केही दिन नरमाइलो लाग्यो’ उनले सुनाए । उनले यसअघि कसैको दाहसंस्कार नगरेको बताउदै भने ‘मैले पहिलोपटक कसैलाई त्यसरी अन्तिम बिदाई गरेको थिए, नरमाइलो लाग्ने रहेछ । आफन्त नभएपनि मनमा दुख र खल्लोपना हुँदोरहेछ ।’
सेल्फ मोटिभेट भई आफुलाई तयार गर्ने र चिकित्सकको वरिपरि रहेको हुनाले आत्तिनु नपरेको शव व्यवस्थापनमा सहभागी अर्का सैनिकले सुनाए । हाल मृत्यु हुनेको संख्या बढ्दै गएपछि शव व्यवस्थापन गर्न व्यस्त हुनु परेको सेनाका अधिकारी बताउँछन् ।

 

‘हामीले शव व्यवस्थापनका लागि एकैपटक दुई टोली खटाएका छैनौ । एक टोली खटाएपछि उहाँहरु १४ दिन क्वोरन्टिनमा बस्दासम्म सोही टिमले काम गरिरहेको हुन्छ’ शव व्यवस्थापनको नेतृत्व गरिरहेका अधिकारीले भने । सेनाले शव व्यवस्थापनका लागि फ्रन्टलाइनमा ३ जना सेना खटाएको छ । उनीहरुलाई पोखरा महानगरको समन्वयमा शव व्यवस्थापनपश्चात् १४ दिन होटलमा क्वारेन्टिनमा राखिन्छ ।

 

यतिबेला सेनाले जतिसक्दो चाडो शव व्यवस्थापन गरिरहेको छ । अधिकांश शव रातको समयमै व्यवस्थापन हुन्छ । जसले गर्दा आफन्तले अन्तिम बिदाईसम्म गर्न पाउदैनन् ।

 

मृत्यु भएका आफन्तले जब आफनो आफन्तले अन्तिम बिदाई गर्न पाउँदैनन् तब उनीहरु झनै बढी दुखी भएको सेनाकोे अनुभव छ । तर अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै परिवारको सुरक्षाबारे सोच्नु सेनाको पहिलो दायित्व भएको एक अधिकारीले बताए । ‘हामीले शव व्यवस्थापन गर्नुपूर्व अस्पतालले पहिल्यै शवलाई प्लास्टिकमा बेरेर दिन्छ, त्यसैले हामीसँग भन्दा अस्पतालसँग समन्वय गरे आफन्तले शव हेर्न पाउनेछन्’ उनले सुनाए ।

 

हरेकपटक शव व्यवस्थापन गरेपछि सेनाको टोली यही नै अन्तीम होस् भन्ने कामना गर्छन् । अपरिचित भएपनि सबै नेपाल आमाको सन्तान हौं भन्ने भावनाले श्रद्धाञ्जली दिने गरेको उनीहरुले बताए । ‘देश र जनताकालागि काम गर्ने शपथ खाएका हौं, तर यो काम केही फरक र दुखद छ, यस्तो काम गर्न नपरे हुन्थ्यो, महामारी हटे हुन्थ्यो’ सेनाहरुको समुल धारणा छ ।

कमेन्टहरु
Loading...