ताप्लेजुङ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ ।
पाथीभराको दर्शन गरेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छेको दोषारोपण गर्नुभयो ।दिनानुदिन नागरिक सङ्क्रमणको चपेटामा परिरहेका बेला उपचार र सङ्क्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उहाँले औँल्याउनुभयो ।
अर्काे प्रसङ्गमा उहाँले पार्टी महाधिवेशन छिट्टै हुने र त्यसबाटै विभाजनलाई अन्त्य गरेर काँग्रेस अघि बढ्ने बताउनुभयो ।
“महाधिवेशनबाटै काँग्रेसभित्र देखिएका बेथिति र सैद्धान्तिक विचलनको अन्त्य भई एकताको सन्देश आउने छ र सम्भावित खतराबाट मुलुकलाई बचाउन थप चनाखो र बलियो हुने छ”, उहाँले भन्नुभयो ।
सबै समूहलाई मिलाएर पार्टीको नेतृत्व गर्ने तयारी आफूले गरेको उहाँले स्पष्ट पार्नुभयो ।
सिटौलालाई काँग्रेस ताप्लेजुङका नेता कार्यकर्ताले समेत भेट गर्दै पार्टीभित्र देखिएको विभाजनले निराशा छाएको जनाउँदै यसको अन्त्य गर्न पार्टीलाई सुझाव दिएका थिए ।