उपचारका क्रममा २ संक्रमितको निधन

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित १ वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनिया सम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान ज्यान गएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको ज्यान गएको हो ।

त्यसैगरी चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा गैंडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । गत असोज १७ गते सर्पले डसेको शंका लागेर अस्पताल भर्ना गरिएकोमा उनको १८ असोजमा कोरोना पोजेटिभ देखिएकोे थियो । स्वासप्रस्वासको समस्या आएपछि उपचारको क्रममा आज बिहान उनको ज्यान गएको हो । रासस

कमेन्टहरु
Loading...