प्रहरी देखेपछि १२ लाख रुपैयाँ फालेर भाग्ने को होला ?

 

नेपाल भारत सीमा नजिक नियमित गस्तीमा रहेको प्रहरीलाई देखेपछि १२ लाख रुपैयाँको झोला फालेर एक व्यक्ति भारततिर भागेका छन् । यो घटना बाराको कचोर्वास्थित नेपाल भारत सीमा नजिकको हो ।

 

चाडवाडलाई लक्षित गरी सोमबार बिहान करिब साढे १० बजे जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी कचोर्वाको टोली गस्तीमा रहेको थियो । उक्त टोली सिम्रौनगढ नगरपालिकाअन्तरगत पिपराघाट सीमामा पुगेको थियो ।

 

संयुक्त टोलीले सिमानामा आवतजावत गर्ने सवारीसाधान र पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा भारतबाट यता आउँदै गरेका एक व्यक्ति पुनः फर्केर उतै लागे ।
गस्ती टोलीले रोक्न खोज्दा उनी रोकिएनन् । प्रहरीले पिछा गरेपछि उनले आफुसँग रहेको झोला फालेर सीमापार गरे । प्रहरीसँग भारत पस्ने अधिकार नभएकाले उनीहरुले झोला नियन्त्रणमा लिए । झोला खोलेर हेर्दा त्यसभित्र १२ लाख ३४ हजार ५९५ नेपाली रुपैयाँ थियो ।

 

जिप्रका बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बरामद उक्त नगद राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए । ‘संयुक्त टोली बोर्डर नजिक गस्तीमा थियो, प्रहरीलाई देखेपछि एक व्यक्ति आफुसँग भएको फाइबरको झोला फ्याँकेर उतै भागे’ मिश्रले भने ‘खोलेर हेर्दा १२ लाख रुपैयाँ बढी नगद रहेछ, हामीले भन्सारमा बुझायौं ।’ बरामद रुपैयाँ सबै सक्कली नै भएको उनको भनाई छ ।

 

झोला फालेर भाग्ने पुरुष नेपाली हु्न् वा भारतीय पत्तो पाउन नसकेको मिश्रले उल्लेख गरे । ‘बोर्डर इलाका भएको हुनाले दुबैतिरका नागरिकको हुलिया उस्तैउस्तै हुने भएकाले छुट्याउन सकिएन’ उनले भने ।

कमेन्टहरु
Loading...