पोखरा । लोक सेवा आयोगले सञ्चालन गर्ने भनिएको सम्पूर्ण परीक्षा स्थगित गरेको छ । कार्तिक १६ गतेबाट सञ्चालन हुने भनिएको लिखित परीक्षा स्थगित भएको आयोगले आज सुचना जारी गर्दै जानकारी दिएको हो ।
आयोगले परीक्षामा सम्मिलित हुने उमेद्वारको सिर्जना भएको भय तथा आयोगका कर्मचारीलाई समेत कोरोना संक्रमण भएर आइसोलेसनमा बस्नु परेको तथा परीक्षा सम्बन्धित मुख्य शाखा बन्द गर्नुपरेकाले परीक्षा हालका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
‘हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने उमेद्वारहरुमा सिर्जना भएको भय एवं आयोगका कर्मचारीहरु समेत संक्रमित भइ परीक्षासंग सम्बिन्धित मुख्य शाखाहरु समेत बन्द गर्नुपरेको र कर्मचारीहरु आइसोलेसनमा रहेका कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भएको छ ।’ आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई भएकाले आयोगको पूर्व निर्णय बमोजिम निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फ मिति २०७७ साल कार्तिक १६ गतेदेखि सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा कार्यक्रम आयोगको मिति २०७७/०७/०३ को निर्णयाअुसार अर्को सुचना प्रकाशन नभएसम्म हाललाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।’