पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा कार्यरत करिब ७ सय कर्मचारी आन्दोलित भएका छन् । तलब, भत्ता र कोभिड–१९ सँग सम्बन्धित सुरक्षा सामग्री तत्काल उपलब्ध गराउन माग गर्दै उनीहरुले आजदेखि आन्दोलन शुरु गरेका हुन् ।
आन्दोलनस्वरुप अस्पताल प्रशासनले चेतावनीस्वरुप बिहान १० बजेदेखि अस्पताल परिसरमै सामुहिक धर्ना सुरु गरेको छ । धर्नामा नर्स, फार्मेसी विभाग, सफाइ कर्मचारी, सुरक्षा गार्ड, सवारी चालक रहेका छन् । चिकित्सकहरुले भने विभागीयरुपमा आन्दोलन गरेको जनाएको छ ।
अस्पताल प्रशासनले सम्पूर्ण कर्मचारीलाई प्रत्येक महिनाको ७ तारिखमा तलब उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म तोकिएको मितिमा नपाएको कर्मचारीहरुको गुनासो छ । ‘वर्षाै भयो तोकिएको मितिमा तलब नपाएको’ अस्पतालका एम्बुेलेन्स चालक गणेशबहादुर जिसी भन्छन् ‘यसपटक त तलब र दशैं भत्ता पनि पाइएन ।’ कोरोनाको महामारीमा जोखिम मोलेर काम गर्दा पनि अस्पताल प्रशासनले पारिश्रमिक र सेवा सुविधा दिन आनाकानी गरेपछि आन्दोलनमा उत्रन बाध्य भएको जिसी बताउँछन् ।
यस्तै, चिकित्सकहरुले ३ महिनादेखि तलब नपाएको उनीहरुले बताएका छन् । अस्पतालमा करिब २ सयको संख्यामा चिकित्सक रहेका छन् । उनीहरुले आफ्नै तरिकाले विरोध जनाई प्रशासनसमक्ष आन्दोलन गरेको बुझिएको छ ।
अस्पतालकी सिनियर अनमी शारदा उप्रेतीका अनुसार अस्पताल प्रशासनले कर्मचारीको बाराम्बार अवमूल्यन गरेको छ । कोरोना संक्रमणको बेला नर्सहरुले दैनिक १२ घण्टा काम गरेपनि सुरक्षाको आवश्यक प्रबन्ध गरिएको छैन । १५ दिन १२ घण्टाको रुटिनमा आइशोलेसनमा काम गर्दा संक्रमितसँगै बस्न बाध्य भएको उप्रेतीले सुनाइन् ।
‘१५ दिन काम गरेपछि रेस्ट गर्न हामीलाई अलग्गै बस्ने ठाउँ छैन’ उप्रेती भन्छिन् ‘हामी नर्सहरु संक्रमित बिरामीसँगै बस्न बाध्य छौं ।’ त्यस्तै, संक्रमितको उपचारमा खटिएका नर्सहरुले पाउनु पर्ने अतिरिक्त भत्ता पनि अस्पतालले उपलब्ध नगराएको उप्रेतीले जानकारी दिइन् ।
आन्दोलित कर्मचारीको एउटै गुनासो हो ‘समयमा तलबभत्ता नपाउनु र असुरक्षिततवरले काम गर्न बाध्य बनाउनु ।’ यसै प्रसंगमा फार्मेसीअन्तरगतकी प्रतिमा शाही भन्छिन्, ‘अस्पताल कमाउँ धन्दामामात्रै लागेको छ, हाम्रो सुरक्षाबारे सोच्न प्रशासनलाई चासो छैन । हामी ‘जीरो प्रोटेक्सन’मा काम गरिरहेका छौं ।’
अस्पतालले कोरोना संक्रमणबाट बच्न आवश्यक पर्ने सामग्री उपलब्ध नगराउँदा सम्पूर्ण कर्मचारीमा मानसिक तनावमा काम गर्नुपरेको उनीहरुको दुखेसो छ । हाल अस्पतालका १७ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ भने अन्य थुप्रै कर्मचारी पिसिआर परीक्षण गराई रिपोर्ट कुरिरहेका छन् ।
संक्रमित कर्मचारीहरु अस्पतालकै आइशोलेसन कक्षमा उपचाररत बिरामी र उनीहरुका कुरुवाबाट कोरोना संक्रमित भएको दाबी गर्छन् । संक्रमितका कुरुवाहरु बिना मास्क र पञ्जा क्यान्टिन परिसर, फार्मेसी र बाहिर निस्कँदा संक्रमणको जोखिम बढेको फार्मेसीकी शाही बताउँछिन् ।
तलब भत्ता समयमै नपाएको झोंकमा कर्मचारीहरुले अस्पतालको कमाउ धन्दाबारे सार्वजनिकसमेत गरेका छन् । अस्पतालमा हाल कोभिडको समेत उपचार भइरहेको छ । त्यहाँ उपचाररतमध्ये बीमा गराएका बिरामीलाई अस्पतालले कम प्राथमिकता दिने गरेको छ । बीमाबाहेकका बिरामीलाई बढी महत्व दिने गरेको कर्मचारीले बताएका छन् । आइशोलेसनमा कार्यरत नर्सहरुलाई आवश्यक पर्ने पञ्जासमेत बिरामीकै खर्चमा जोडिने गरेको कर्मचारी बताउँछन् ।
त्यस्तै, अस्पतालका संक्रमित कर्मचारीहरु आफ्नै खर्चमा उपचार गराउन बाध्य भएको उनीहरु बताउँछन् । संक्रमितमध्ये कोही घरमा त कोही आइशोलेसनमा छन्, तर उपचारको सम्पूर्ण खर्च आफै व्यहोरिरहेका छन् । बाहिरबाट कोभिड उपचार गराउन पुगेका बिरामीलाई सकेसम्म बढी दिन राख्न र जसरी पनि खर्च बढाउन प्रशासनले अप्रत्यक्षरुपमा दबाब दिएको एक कर्मचारीले बताइन् । बीमा गराएका बिरामीबाट धेरै लाभ नहुने भन्दै उनीहरुलाई कम महत्व दिइएको पनि उनले जानकारी दिइन् । ‘जसरी हुन्छ सेल्स बढाउनुहोस्’ अस्पतालले दिएको निर्देशनबारे उनले सुनाइन् ।
अस्पतालकी सुपरिटेण्डेन्ट टु माया घलेले कर्मचारीहरुको उक्त भनाई केवल आरोपमात्र भएको र निराधार रहेको भन्दै खण्डन गरिन् । अस्पतालको आइशोलेसनमा कार्यरत चिकित्सक र नर्सलाई पीपीइसहित सम्पूर्ण सामग्री उपलब्ध गराएको घलेको दाबी छ । अस्पतालले सेल्स बढाउन दबाब दिएको भन्ने भनाई पूर्णतः गलत भएको उनले बताइन् । कर्मचारीको सुरक्षार्थ बजेट नै छुट्याएको भन्दै यस विषयमा लेखाशाखामा बुझ्न उनले आग्रह गरिन् । यद्यपि, तलब भत्ताको विषय आफ्नो कार्यक्षेत्रमा नपर्ने उनले जनाइन् ।
कर्मचारीको तलब भत्ता र सुरक्षाको विषयमा अस्पतालका प्रशासकीय अधिकृत कृष्ण घिमिरेले ५ गतेसम्म तलब भत्ता उपलब्ध गराउने जनाए । ‘हामीले यस विषयमा युनियनसँग पनि कुरा गरेका छौं, उहाँहरुले आजै तलब भत्ता उपलब्ध गराउनु पर्ने भनिरहनु भएको छ, तर ५ गतेसम्म उपलब्ध गराउँछौं’ घिमिरेले भने । तलबकै समस्या समाधान गर्न हाल आफु बैंक आइपुगेको उनले जनाए ।
अस्पतालमा कम्युनिष्ट घटकको अखिल नेपाल स्वास्थ्यकर्मी संघ र कांग्रेसको नेपाल स्वास्थ्यकर्मी संघ गरी २ युनियन छन् ।