राजु गिरी, पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ को वडा समितिले वडाको समग्र विकासको लागि दश वर्षे प्रस्तावित विकास योजनाको तयारी थालेको छ । वडाको समग्र विकासलाई अगाडी बढाउन वडाले विकास योजनाको तयारी थालेको हो ।
वडा समितिको ६२ औं बैठकले २०७७ देखि २०८६ सम्म प्रस्तावित विकास योजना किताबको तयारी गर्न ३० सदस्यीय प्रस्तावना तयारी समिति समेत गठन गरेको छ । यो समितिले वडाका विभिन्न क्षेत्रगतरुपमा वडावासीसँग राय, सल्लाह तथा सुझावलाई लिएर अवको एक महिना भित्र किताव तयार गर्नेछ । संघ, प्रदेश र स्थानिय तहसँगको सहकार्य गर्दै आगामी दश वर्षमा वडालाई विकसित नमुना वडाको रुपमा पुराउने वडाको योजना छ ।
आइतबार वडाध्यक्ष धनबहादुर नेपालीको अध्यक्षतामा छलफलका लागि उक्त समितिको पहिलो बैठक बस्यो । बैठकमा सुझाव दिँदै शहरी योजना आयोग, पोखरा महानगरका सदस्य डा. सरोज कोइरालाले वडाको आवश्यकतालाई पहिचान गरि अगाडी बढ्नुपर्ने बताए । विकास एक क्षेत्रको मात्र नभई सबै क्षेत्रलाई समेटेर विकास गर्न सके योजनाले पूर्णता पाउने उनले सुझाए ।
त्यस्तै पृथ्वी नारायण क्याम्पसका प्रध्यापक डा. गिरीधारी दाहालले योजना बनाउनु भन्दा यसलाई कार्यान्वयन गराउनु ठुलो चुनौती रहेको बताए । साथै आर्थिक, सामाजिक, साँस्कृतिकलगाएत सबै क्षेत्रको विकास गर्न सके मात्र विकास संभव रहेको औल्याए ।
त्यसैगरि पूर्व प्रमुख जिल्ला अधिकारी नरहरी बरालले अघिल्लो निर्वाचितले अघि बढाएको योजना पछिल्लो निर्वाचितले रोक्ने प्रवृत्तिका कारण विकासमा अवरोध हुने गरेको बताए । उनले भने– ‘कनिका छरे जसरी सबैलाई खुसी बनाउछु भनेर योजना बनाउनु भन्दा ठोस निर्णय गरेर काम अगाडी बढाउनु पर्छ ।’
बृहत योजना बनाई अवको १० वर्षमा वडाको विकास गरि वडालाई नमुना वडाको रुपमा विकास गर्ने सभाध्यक्ष धनबहादुर नेपालीले बताए । ‘वडाको विकासका लागि सबैको साथ, सहयोग, सल्लाह, सुझावका आधारमा अगाडी बढ्नेछौं । –उनले भने । साथै सबै क्षेत्रलाई समेट्ने गरि विकासको योजना अगाडी बढाईने प्रतिवद्धता समेत नेपालीले व्यक्त गरे ।
बैठकमा सहजिकरण गर्दै वडा सदस्य उज्वल खत्रीले छोटकरीमा वडामा भैरहेको विकासका कार्यका बारेमा बताएका थिए । बैठकमा उपस्थितलाई वडा सदस्य पुष्पराज बरालले स्वागत गरेका थिएभने धन्यवाद ज्ञापन वडासदस्य हरिमाया विकले गरेकी थिईन् ।