काठमाडौं । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ ।
महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उनका भतिजा अजयले जानकारी दिएका छन् । काठमाडौंमा बसोबास गर्दै आएका डा यादव १ महिनाअघि बथनाहास्थित घरमा आएर बसेका थिए ।
उनी ४ दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका यादवको मस्तिष्काघातका कारण निधन भएको अजयले बताए ।
यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए । यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उनी स्वास्थ्यमन्त्री रहेका थिए ।
प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा यादव मधेशी नागरिक समाजका अध्यक्षको हैसियतमा सामाजिक कार्यमा संलग्न भएका थिए । उनको बथनाहास्थित पैतृक गाउँमा आज साँझ दाहसंस्कार गरिने डा यादवको पारिवारिक स्रोतले जनाएको छ । यादवका १ छोरा र १ छोरी रहेका छन् । उनको श्रीमतीको १ वर्षअघि निधन भएको थियो । रासस