सर्वत्र आलोचना हुन थालेपछि सांसदहरुले दसैं भत्ता फिर्ता गर्न थाले

काठमाडौं । सांसदहरुले दसैं भत्ता नलिने घोषणा गर्न थालेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले कोरोना महामारीको विषम् परिस्थितिमा दसैं भत्ता नलिने घोषणा गरेका हुन् ।

नेता रावलले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्ना खातामा दसैं भत्ता राखिएको बताउँदै रकम कट्टी गर्न आग्रह गरेका छन् ।

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो, हालको विषम् स्वास्थ्य चुनौती र आर्थिक मनन् गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्, सांसदहरुले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो पनि समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’ उनले आफ्नो ट्वीटरमा भनेका छन् ।

यस अगाडि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भत्ता नलिने घोषणा गरिसकेका छन् । कोरोना भाइरसको महामारीले देश थलिएको अवस्थामा समेत सांसदहरुले दसैं भत्ता लिएको भन्दै विशेष गरेर सामाजिक सञ्जालहरुमा सर्वत्र आलोचना भएको थियो ।

नेपालको संघीघ कानुनमा सांसदहरुले, घरभाडा सहित, बिजुली, पानी, सञ्चार खर्च, बैठक तथा भ्रमण भत्ता पाउने व्यवस्था भए पनि दसैं खर्च समबन्धी व्यवस्था छैन ।

कमेन्टहरु
Loading...