तनहुँ । ‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार बस्ने ७८ वर्षीया नन्दकुमारी दवाडीलाई पनि ठ्याक्कै मेल खान्छ ।
उनका १५ छोरा जन्मिए । १४ छोरा सानैमा बिते । बाँचेको एउटा छोराले पनि उनलाई हेरविचार गर्दैनन् । विवाह गरेपछि ससुरालितिरै बसे । दुःखसुख गरेर हुर्काएको छोराले पनि नहेरेपछि आराम गर्ने बेलामा उनी दमौली बजार आसपास सालको पात बेच्न हिंड्छिन् । ‘बचेको एउटामात्र छोरा थियो, त्यही पनि ससुरालितिर बस्छ ।’ उनले भनिन्, ‘गुजारा गर्न सालको पात बेच्छु ।’
व्यास नगरपालिका–४ स्थित कालिका जंगलमा २/३ घण्टा लगाएर सालको पात टिप्ने अनि बजारमा ल्याएर बिक्री गर्ने उनको दैनिकी हो । दिनमा ३/४ वटा मुट्ठासम्म पात बिक्री गर्ने गरेको उनले जानकारी दिइन् । ‘दिनभर दमौली बजारमा विभिन्न ठाउँमा जान्छु, एउटा मुठोको ५० सम्म बिक्री हुन्छ ।’ उनले भनिन् ।
फेसबुकमा देखेपछि सहयोग
दवाडीका बारेमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष वसुन्धरा घर्तीले सामाजिक सञ्जालमा फेसबुकमा तस्बिर पोस्ट गरेपछि उनलाई सहयोग जुटेको छ । ग्रिन क्लिन आशिका फाउन्डेसनमार्फत् दवाडीलाई २ बोरा चामल, दाल, नुन, तेल, चियापत्तीलगायत पकाउने भाँडाकुँडा सहयोग गरिएको छ ।
उक्त सामग्री फाउन्डेसनका उपाध्यक्ष सन्दीप बस्नेतले शुक्रबार सहयोग सामग्री दवाडीलाई हस्तान्तरण गरेका हुन् । सामाजिक अभियन्ता, नर्स एवं कलाकार आशिका तामाङ अध्यक्ष रहेको फाउन्डेसनले प्रत्येक महिना देशका विभिन्न स्थानमा आवश्यक पर्नेलाई सहयोग गर्दै आइरहेको छ । दसैंको पूर्वसन्ध्यामा खाद्यान्नलगायत सामग्री पाएपछि दवाडी खुसी भएकी छिन् । रासस