दिपक के श्रेष्ठ
पछिल्लो १० दिनको तथ्यांकलाई हेर्ने हो भने मुलुकमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित हुनेको संख्या दैनिक ५ हजारको हाराहारीमा पुगेको छ । पोखरामा रहेको २ सरकारी संस्थाले परीक्षण गर्न नभ्याएर निजी प्रयोगशालालाई समेत स्वाब परीक्षणको अनुमति दिइएको छ ।
शनिबार दिउँसोसम्म गण्डकी प्रदेशमा कूल संक्रमितकोे संख्या ५ हजार ५ सय ७७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ९ सय नजिक छ । हालसम्म प्रदेशमा ४७ जनाले ज्यान गुमाइसकेका छन् । सरकारी प्रबन्धको आइशोलेसन भरिएपछि संक्रमितहरु आफ्नै घर, कोठामा बस्न बाध्य छन् ।
गण्डकी प्रदेशका पर्वत र स्याङजाले दशैंमा जिल्ला भित्रिनेलाई नयाँ नियम बनाएको छ । पर्वत जानेले अनिवार्य २ हप्ता क्वारेन्टाइन बस्नु पर्नेछ । स्याङजा जानेहरुले भने ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य गरेको छ ।
जिल्लावासीलाई कोरोना संक्रमणबाट बचाउन वा थप संक्रमण फैलन नदिन प्रमुख जिल्ला अधिकारीले उक्त नियम बनाएका हुन् । ९ दिनपछि आउने टीका लगाउन घर जानेहरुले क्वारेन्टाइनमा बस्ने हो भने दशैंको अन्तिम दिन पुर्णिमामामात्रै टीका लगाउन पाउने छन् । त्यस्तै, पिसिआरको रिपोर्ट बोकेर जानेले थप आर्थिक भार बोक्न बाध्य हुनेछन् ।
प्रदेशअन्तरगतका २ जिल्लाले लागु गरेका नियम झट्ट हेर्दा स्वभाविक लागेपनि यो कुनै पनि हालतमा व्यवहारिक छैन । चाडवाडकाबेला आमजनतालाई यस्ता नियम थप झन्झटिलो र खर्चिलो हुनेछ । सरकारी प्रयोगशालाले सर्वसाधारणको पिसिआर रिपोर्ट दिन ४ दिनसम्म लगाउने गरेको छ । निजीमा परीक्षण गराउनेले महंगो शूल्क तिर्न बाध्य हुनेछन् ।
स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ को अधिकार प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारीले ल्याएको नियमले पुनः जनता नै पिल्सिनु पर्ने भएको छ ।
स्याङजा र पर्वतकै हकमा भन्नुपर्दा उक्त जिल्लाका ठूलो जनसंख्या पोखरा, काठमाण्डौं र भारतलगायतका स्थानमा काम गर्न बाहिरिएका छन् । उनीहरु घर फर्कदा खल्लो दशैं मनाउन बाध्य छन् ।
यसैबीच, प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार एक सार्वजनिक कार्यक्रममा ‘डराएर कोठामा बसेर कोरोनासँग लड्न सकिँदैन घु्मघाममा निस्कनुहोस्’ भनेका छन् । थला परेको पर्यटन उद्योगलाई टेवा पु¥याउने हेतुले चाडवाडकाबेला सुरक्षितरुपमा गाउँ घुम्ने संस्कार बसाउन मुख्यमन्त्रीले आग्रह गरेका हुन् ।
आन्तरीक पर्यटनलाई सघाउन मूख्यमन्त्रीले यस्तो आग्रह गरिरहँदा नजिकको आकर्षक गन्तव्य घान्द्रुकले ‘कडा लकडाउन’ गरेको बताएको छ । त्यस्तै, अन्य गन्तव्यले पनि पर्यटकलाई सेवा दिन नसक्ने अप्रत्यक्षरुपमा बताइरहेका छन् ।
दशैं नजिकिँदै गर्दा प्रदेशका अन्य जिल्लाले स्याङजा र पर्वतको सिको गर्ने सम्भावना छ । मुख्यमन्त्रीले घुमघामा जोड दिइरहेकाबेला प्रमुख जिल्ला अधिकारीले सकेसम्म जिल्ला भित्रिन रोक लगाउने उद्देश्यले नियम बनाउँदैछन् । कर्मचारीतन्त्र र राजनीतिज्ञबीचको शितयुद्धले निरन्तरता पाउँदा दुबै पक्ष आफ्नो शक्तिको प्रयोग गर्न उद्दत छन् ।
यौटै प्रदेशभित्रका जिल्लामा अवस्था हेरिकन फरक नियम बनाउन नसकिने होइन तर दुई शक्तिकेन्द्रबीचको द्वन्द्वले अधिकारको दायरा सकेसम्म मिच्ने वा लुपहोल खोजेर पेल्ने प्रवृत्ति झनै मौलाउँदै गएको छ ।
चाडवाडको समयमा घर परिवार भेट्न हतारिएकालाई सम्बन्धित जिल्लामातहतका स्थानीय प्रशासनले नै प्रभावित क्षेत्र छुट्याएर सोही प्रकारको नियम तर्जुमा गरी व्यवस्थापन गर्न खोजेको भए बाह्य जिल्ला वा विदेशमा रहेका नेपालीले दुख पाउने थिएनन् ।
अब गण्डकीवासीले मुख्यमन्त्रीले आग्रह गरे झैं घुमघाममा निस्कने कि पिसिआर रिपोर्ट बोकेर घर जाने ? कोठाबाट बाहिर निस्केर कोरोनासँग लड्ने कि जिल्ला फर्किएर २ हप्ता घरमै क्वारेन्टाइनमा थन्किने ?