सागर राज तिमिल्सिना
पोखरा ४ मंसिर/चिकित्सकको लापरबाहीले पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा गर्भमा रहेको शिशु सहित महिलाको ज्यान गएको छ । सुत्केरी गराउन हिजो साझ ८ बजे अस्पतालमा भर्ना भएकी रौतहट, डुमरिया – २ घर भई सिर्जनाचोक बस्ने २७ बर्षिय कल्पना तिमिल्सिनालाई ९ बजे मृत घोषणा गरिएको थियो ।
हिडेरै अस्पताल भित्र छिरेकी महिलाको चिकित्सकको लापरबाहीले गर्भमा रहेको शिशु सहित ज्यान गएको आफन्तको आरोप छ । गर्भवती भएदेखि नियमित स्वास्थ्य परिक्षण गराईरहेको र कुनैपनि समस्या नदेखिएपनि सुत्केरी हुने बेला समयमै चिकित्सकले ध्यान नदिएकाले आमा र शिशु दुबैको ज्यान गएको मृतकका देवर मोतिराज तिमल्सिनाले बताए । नियमित स्वास्थ्य परिक्षणको क्रममा चिकित्सकले गर्भमा रहेको बच्चा र आमा दुबैको स्वास्थ्य राम्रो रहेको बताएका थिए ।
अस्पतालमा छिरेको २ घण्टापछि मात्र भर्ना लिएको र साझ ८ बजे आईसियुमा लगेर चिकित्सक बाहिरिएको आफन्तको अरोप छ । आईसीयुमा छोडेर चिकित्सक अन्यत्र ब्यबस्त भएपछि महिलाको अबस्था नाजुक बन्दै गएको र अन्तिम समयमा मात्र चेकजाचको लागि गएको उनिहरुको दाबि छ । ‘अस्पताल पु¥याएपछि सामान्य ज्वरो आएको थियो , तिमल्सिनाले भने भर्ना गरेको बिरामीको अबस्था बारे पटक पटक बुझ्न खोज्दा पनि कुनै जानकारी दिईएन र मृत घोषणा गरियो । ’
अस्पताल पु¥याएर पनि कुनै उपचार बिना गर्भवति महिलाको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका छन् । ‘ अस्पताल लगेको बिरामीलदाई दुई रुपैयाको सिटामल पनि खुवाउन नपाउदै ज्यान गयो ’ आफन्तले भनेका छन् । चिकित्सकको लापरबाहीकै कारण महिलाको ज्यान गएको भन्दै आफन्तले घटनाको छानबिन र दोषी माथि कारबाही नभएसम्म शब नउठाउने अडान लिएका छन् । मृतक महिलाको ८ बर्षिय छोरी र श्रीमान् छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. बुद्धी बहादुर थापाले मृतकका आफन्त संग कुराकानी सहमतिमा शब उठाईने बताएका छन् । उपचारको क्रममा चिकित्सकको लापरबाही पुष्टी भए कारबाही गर्न तयार रहेको उनले बताएका छन् ।
