बैतडी । चाडपर्वका बेला भीडभाड बढेर कोराना संक्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आंशिक लकडाउन गर्ने जनाएको हो ।
दसैं तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठमा हुने मेला, जात्रा, उत्सव, पर्व, सांस्कृतिक तथा सामाजिक जमघट नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् । यसका साथै खेलकुद, विद्यालय, कलेज तथा शैक्षिक संस्थामा पठनपाठन अर्को व्यवस्था नभएसम्मका लागी नगर्न नगराउन सूचनामा भनिएको छ ।
राजनीतिक दल तथा भ्रातृ सङ्गठनहरुलाई भीडभाड हुने गरी आमसभा गोष्ठी नगर्न र नागरिकलाई सार्वजनिक स्थलहरुमा भीडभाड तथा जमघट नगर्न जिप्रकाले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले दसैं तिहारका बेला स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले भने, ‘चाडपर्वका बेला हुन सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाइ गरेका हौं, मास्क, सेनिटाइजरलगायत स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्दछौं ।’
कसैले प्रशासनको आग्रहलाई अटेरी गरे संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुनअनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ३७ जना सक्रिय संक्रमित रहेका छन् । उपचारपछि निको भएर ४ सय ११ जना घर फर्केका छन् भने १ जनाको मृत्यु भइसकेको छ । जिल्लामा सबैभन्दा बढी पाटन नगरपालिकामा १९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस