काठमाडौं । काठमाडौंको काडाँघारीमा बस्दै आएका बालक निशान खड्काको अपहरणपछि हत्या भएको घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेपछि गोली हानेर ज्यान लिएको राष्ट्रिय मानवअधिकार आयोगले निष्कर्ष निकालेको छ ।
११ वर्षीय बालक खड्काको अपहरण पछि हत्या गरेको आरोपमा सिन्धुपाल्चोकका गोपाल तामाङ तथा नुवाकोटका अजय तामाङलाई २०७५ साउन २१ गते पक्राउ गरेको थियो । दुवै जनालाई सोही दिन प्रहरीले गोली हानेर हत्या गरेको आयोगले ठहर गरेको हो ।
गोपाल तथा अजय तामाङका परिवारले आयोगमा उजुरी दिएपछि गठित छानविन समितिले पेश गरेको प्रतिवेदनमाथि सुनुवाई गर्दै मानवअधिकार आयोगले यस्तो निष्कर्ष निकालेको हो ।
अपहरण पश्चात हत्या गरिएका निशान खड्काका परिवारलाई ३ लाख तथा प्रहरीको गोलीबाट मारिएका अजय तथा गोपाल तामाङको परिवारलाई १/१ लाख क्षतिपूर्ति दिन समेत सरकारलाई आयोगले सिफारिस गरेको छ ।
यस्तै तत्कालिन डिएसपी रुगमबहादुर कुँवर, प्रहरी नायब निरीक्षक दीपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित लामा तथा प्रहरी सहायक निरीक्षक राजन खड्कालाई घटनामा दोषी देखिएको भन्दै कारवाहीको सिफारिस गरेको छ ।
आयोगले प्रहरीले दुवै जनाको हत्या गरेर मानव अधिकारको उल्लंघन गरेको समेत निष्कर्ष निकालेको छ ।