झापामा सशस्त्रका ११ बिओपी, अरु ७ थपिँदै

झापा । भारतको पश्चिम बंगाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ । मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ११ औं बिओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नं १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापनाको लक्ष्य रहेको बताएका छन् ।

उनले झापामा अरु ७ वटा बिओपी छिट्टै स्थापना गरिने जानकारी दिँदै मानव बेचबिखन, लागुऔषधको कारोवार, तस्करीलगायत अपराध रोक्न सीमाका बिओपीमा तैनाथ सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

झापामा १४४.२ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा क्षेत्र रहेको छ । सरकारले छोटी भन्सार तोकेका स्थानमा अनिवार्यरूपमा बिओपी स्थापना भइरहेका छन् । बिओपीका लागि स्थानीय तहले दाताबाट प्राप्त वा खाली रहेको सरकारी जग्गा उपलब्ध गराउँदै आएका छन् ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सशस्त्र प्रहरीको बिओपीलाई स्थानीय सरकारको तर्फबाट आवश्यकता हेरी सहयोग गरिने बताइन् । भारतको पश्चिम बंगालसँग सीमा जोडिएको मेचीनगरमा काँकडभिट्टा, बाहुनडाँगी र ज्यामिरगढी गरी ३ वटा बिओपी स्थापना भइसकेका छन् भने अझै एउटा नकलबन्दा छोटी भन्सार क्षेत्रमा स्थापनाको तयारी भइरहेको छ । सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमाको अभिलेख दुरुस्त राख्ने र सीमापार अपराध नियन्त्रण गर्ने बिओपीको लक्ष्य भएको बताएका छन् । रासस

कमेन्टहरु
Loading...