कास्कीमा ८० प्रतिशत मत खस्यो, मतपेटिका संकलन कार्य जारी

सर्वदलीय बैठक पछि मतगणना भोलिदेखि शुरु हुने
पोखरा, ४ मंसिर /दोस्रो संविधानसभाको निर्वाचनमा कास्कीमा आज भएको मतदानमा ८० प्रतिशत मत खसेको छ । निर्वाचन सम्पन्न भए लगत्तै क्षेत्र नं. ३ को अधिकांश मतपेटिकाहरु संकलन भएको र दुईको आउने क्रम जारी रहेपनि १ र ४ को भने राती अबेरसम्म पनि लाग्न सक्ने निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ । chunabeनिर्वाचन अधिकृतको कार्यालय कास्कीका अनुसार कास्कीमा कुल मतदाता संख्या एकलाख ९७ हजार छसय ६८ रहेको छ । यस मध्ये कास्कीको क्षेत्र नं. १ मा ५४ हजार छसय ६३, क्षेत्र नं. २ मा ४८ हजार छसय २५, क्षेत्र नं. ३ मा ४१ हजार दुईसय १८ र क्षेत्र नं. ४ मा ५३ हजार एकसय ६२ मतदाता संख्या थियो । निर्वाचन अधिकृतको कार्यालय कास्कीका प्रवक्ता ठाकुर खरेलले कास्कीमा ८० प्रतिशत मत खसेको बताएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय कास्कीका प्रवक्ता ठाकुरका अनुसार भोली नै सर्वदलीय बैठक बोलाएर त्यसको निर्णय अनुसार मतगणना कार्य सुरु हुनेछ । कास्कीको एकसय ४७ स्थानमा दुईसय ९२ वटा मतदान केन्द्रहरु राखिएका थिए । दुईहजार सुरक्षाकर्मी र २५ सय सरकारी कर्मचारी कास्कीमा निर्वाचन सम्पन्न गर्नका लागि खटिएका थिए । २८ दलका स्वतन्त्र र दलका गरी ७७ जना उमेद्वारहरुले प्रत्यक्षमा प्रतिस्पर्धा गरेका छन् ।
भोली हुने मतगणनामा जिल्ला विकास समितीको कार्यालय कास्कीमा क्षेत्र नं. १ को, जिल्ला निर्वाचन कार्यालय कास्कीको कार्यालयमा क्षेत्र नं. २ को, जिल्ला अदालत कास्कीमा क्षेत्र नं. ३ को र क्षेत्रीय शिक्षा निर्देशनालयमा क्षेत्र नं. ४ को मतगणना कार्य हुने पनि निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ । कास्कीको क्षेत्र नं. १ र ४ अलि गाउँमा पर्ने भएकोले मतपेटिका संकलन कार्य भने राती अबेरसम्म पनि चल्ने निश्चित छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी केदार रिजालका अनुसार मतदानका क्रममा कहीँ कतै कुनै पनि अप्रिय घटनाहरु भएका छैनन् । मतदान गर्ने अघिल्ला र पछिल्ला दिनहरुमा कास्कीमा बम बिस्फोटनका घटनाहरु सुनिए पनि निर्वाचनको दिन आज कहीँ कतै कुनै पनि यस्ता घटनाहरु नभएको एसपी रिजालको भनाई थियो ।

कमेन्टहरु
Loading...