काठमाडौं । दसैंको संघारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दसैंका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दसैंका लागि हवाई उडानमा बुकिङ सामान्य छ ।
काठमाडौंबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौं फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दसैं आउने २ साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो ।
अधिकतम भाडादरमा टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुको चाप छैन । नजिकिएको दसैं लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।
हवाई सेवा प्रदायक कम्पनीले भाडादर सस्तो हुँदा पनि यस पटक बुकिङ उत्साहबद्र्धक नभएको बताउँछन् । आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीको बुकिङ अहिले उत्साहजनक छैन । भएका बुकिङ पनि काठमाडौंबाट बाहिर जाने एकतर्फी मात्रै सामान्य छन् । बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले नजिकिएको दसैंका लागि हवाई टिकट बुकिङ उत्साहजनक नरहेको बताए । उनका अनुसार काठमाडौंबाट एकतर्फी बुकिङ सामान्य छ ।
फर्कदा आधाभन्दा पनि कम यात्रु हुन्छन् । यसपटक दसैंको १/२ दिन अघि पनि यात्रुले सहजै टिकट पाउने निर्देशक जोशीले बताए । बुद्धले अहिले दैनिक दुवैतर्फी गरी ६४ उडान गर्दै आएको छ ।
सामान्य अवस्थामा दसैंका बेला विशेष गरी फूलपातीदेखि विजयदशीसम्मको १५ दिन अघि टिकट बुकिङ भइसक्थ्यो । यो पटक सस्तो भाडादर कायम गर्दा पनि यात्रुको आकर्षण बढेको छैन । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले सधैंको बुकिङ पहिलाको जस्तो उत्साहबद्र्धक नभएको बताउँछ् । कोभिड महामारीका कारण यात्रुमा एकखालको त्रास रहेकाले हवाई भाडादर सस्तो हुँदा पनि बुकिङ राम्रो छैन ।
प्रवक्ता बर्तौलाका अनुसार तुम्लिङटारबाहेकका गन्तव्यममा सधैंका लागि सहजै टिकट पाइनेछ । यो गन्तव्यमा बुद्ध र यतीका सानो ३० सिट क्षमताका जहाजले उडान भर्ने हुँदा हरेक वर्ष अत्यधिक चाप हुने गरेको छ । यतीले दैनिक दुईतर्फी ३८ उडान गर्दै आएको छ । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि कोभिड महामारीले अस्तव्यस्त पारेका कारण दसैंका लागि बुकिङ सन्तोषजनक नभएको बताउँछन् ।
अहिले दसैंका लागि टिकट सहज र सस्तो भएको र एकतर्फी कुपेन्सी राम्रै रहेको उनले बताए । श्रीले पोखरा, सिमरा, जनकपुर, राजविराजबाहेक अन्य सबै गन्तव्यमा उडान गरिरहेको छ ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले यसपटकको दसैंका लागि हवाई उडानमा उत्साहजनक नभएको बताए । उनका अनुसार अहिले उडिरहेकै जहाजमा पनि फूल अकुपेन्सी छैन । सधैंको ३/४ दिन २/४ उडान थपिने प्रवक्ता शर्माले बताए । भद्रपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा दसैंका लागि केही उडान थपिनसक्ने उनको भनाई छ ।
विगतका दसैं, तिहार, छठलगायत चाडपर्वका बेला हवाई जहाजको टिकट पाउनै यात्रुलाई हम्मे पथ्र्यो । कोभिड–१९ महामारीका कारण छ महिनापछि मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालनमा छ । राजधानी काठमाडौं लगायत कतिपय जिल्लामा महामारी उच्च बिन्दुमा पुगेको छ । महामारीबाट जोखिन यस पटकको दसैंमा विगतकोजस्तो चहलपहल हुनेछैन ।
सोही कारण पनि हवाई क्षेत्रमा उत्साह छैन । सरकारले पनि दसैं जहाँ जस्तो अवस्थामा रहेको त्यही मनाउन भीडभाड नगर्न आग्रह गरिरहेको छ । आन्तरिकतर्फ १० हेलिकप्टर सहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस