विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र तथा विराट शिक्षण अस्पतालमा उपचाररत रहेका २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आज बिहान २ बजेर १५ मिनेट जाँदा ७१ वर्षीय वृद्धको कोरोनाबाट ज्यान गएको हो । उनी बुढीगंगा गाउँपालिका ५ का स्थायी बासिन्दा हुन् ।
पुरानो दमको रोगबाट ग्रसित उनलाई शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहँदा उनको ज्यान गएको हो ।
विराट शिक्षण अस्पतालमा ४३ वर्षीय पुरुषको ज्यान गएको छ । उनी सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । उनको आज बिहान ८ बजेर १० मिनेट जाँदा ज्यान गएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बेहोस अवस्थामा ३ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । शंकाका आधारमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको होस् नखुली कोरोनाबाट ज्यान गएको बताइएको छ ।