अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

लहान । १ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ । अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना संक्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहने अस्पतालका प्रमुख सुनिलप्रसाद कुशवाहाले जानकारी दिएका छन् ।

करणीको प्रयासको आरोपमा १ जना पक्राउ

नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ ।

स्थानीय ५ वर्षीया नाबालिकालाई आँपको बगैंचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ । पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक उमाशंकर पञ्जीयारले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

कमेन्टहरु
Loading...