काठमाडौं । शुक्रवार गोरखामा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सभापति शेरबहादुर देउवासमेत तीन शीर्ष नेताले बूढीगण्डकीमा ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको भनी लगाएको आरोप पुष्टि गर्न कांग्रेसले चुनौती दिएको छ ।
आइतबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै कांग्रेसले प्रमाणको दाबी पुष्टि गर्न चुनौतीसहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपिल गरेको छ ।
बूढीगण्डकी जलविद्युत् परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापति समेतको संलग्नता रहेकोे भनेर डा भट्टराईले दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको विज्ञप्तीमा उल्लेख छ ।
‘बूढीगण्डकीबारे ज्वलन्त प्रश्नसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा पर्नु भएको छ । हलुका टिप्पणीहरूलाई प्रस्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन’विज्ञप्तीमा भनिएको छ ।
‘देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘म संग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुनजान्छ ।,’ विज्ञप्तीमा उल्लेख छ ।